अपराधको केन्द्र बन्दै काठमाडौँका गेष्ट हाउस…..

काठमाडौं, पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवती मित्रनगरका ३ वटा गेष्ट हाउसमा बलात्कृत भइन् । विदेश जाने तयारीमा रहेका युवतीलाई ९ जना किशोरले उनलाई बलात्कार गरेका थिए । प्रहरी स्रोतका अनुसार मुगुका युवराज बडुवालले ती युवतीलाई सुरुमा पूजा गेष्ट हाउसमा लगेका थिए । लगत्तै उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई पनि बोलाएर सामूहिक बलात्कार गरे । अर्को बिहान बसपार्ककै आयुष गेष्ट हाउस र पाँचथर सप्तकोशी गेष्ट हाउसमा लगेर उनलाई थप ७ जनाले बलात्कार गरेर फरार भए । बलात्कृत युवती अर्धचेत अवस्थामा महानगरीय प्रहरी प्रभाग बसपार्कमा गएपछि मात्र घटना बाहिरियो । प्रहरीले खोजी क्रम तीब्र बनायो । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले घटनामा संलग्न मध्येका ६ जनालाई कलंकीस्थित न्यू गण्डकी गेष्ट हाउस एन्ड खाजा घरबाट गिरफ्तार गरेको थियो । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘६ जना एकै ठाउँमा लुकेर बसेका रहेछन् ।’ बसपार्क घटनामा बलात्कार गर्न र बलात्कारपछि लुक्न आरोपीहरूले गेष्ट हाउस रोजेका थिए । यसरी काठमाडौँका गेष्ट हाउस अपराधको केन्द्र बन्न थालेका छन् । नयाँ बसपार्क, कोटेश्वर, सुन्धारा र कलंकीमा धेरै होटल तथा गेष्ट हाउस छन् । गोंगबु नयाँ बसपार्कस्थित मित्रनगर र त्यस आसपास मात्रै १ हजार भन्दा बढी होटल तथा गेष्ट हाउस छन् । ती गेष्ट हाउसमा बसेर आरोपीहरूले अपराध योजना बनाउने र अपराध गरेपछि लुक्ने आश्रय स्थल बनाउँदै आएका छन् । ०७८ मंसिर १५ मा काठमाडौंको कोटेश्वरस्थित सुब्बा गेष्ट हाउसमा १२ र १५ वर्षीया बालिका बलात्कृत भए । सो आरोपमा सप्तरीको साविक वनाहा घर भएका ४२ वर्षीय फटुली शाहलाई प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको थियो । हाल ती बालिकाद्वयलाई माइती नेपालको संरक्षणमा राखिएको छ । शाहले ‘पढाउँछु’ भनेर बालिकाहरुलाई मकवानपुरबाट फकाएर काठमाडौँ ल्याएर बलात्कार गरेका थिए । गेष्ट हाउस दुब्र्यवहारको थलो बन्दै गएपछि ग्राहकहरुको रेकर्ड आफ्नो ‘लगबुक’मा राखेको वा नराखेको बारे छानविन गर्न काठमाडौँ प्रहरीलाई निर्देशन दिएको महानगरीय प्रहरी कार्यालयका डिआईजी उत्तम सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘बलात्कारजस्तो जघन्य अपराधमा गेष्ट हाउस सञ्चालकको पनि त्रुटी रहेछ भने उनीहरुलाई पनि प्रतिवादी बनाएर मुद्दा चलाउँछौं । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले गेष्ट हाउसलाई ‘अपराध केन्द्र’बाट मुक्त गराउनेबारे सञ्चालकहरुसँग छलफल गर्दै आएको छ । तर, नियामक निकायले गेष्ट हाउसमाथि चुस्त मनिटरिङ गर्न सकेको छैन । प्रहरीको एक्लो प्रयासबाट मात्रै गेष्ट हाउसलाई नियमन गर्न नसकिने बताउँछन् डिआईजी सुवेदी । सुवेदीले भने, ‘गेष्ट हाउसलाई नियमन गर्न स्थानीय निकाय पनि लाग्नुपर्छ, हामीले मात्र जोडबल गर्दा प्रहरीले दुःख दियो भनेर गुनासो पनि आउने गरेको छ । बसपार्कस्थित नेपाली होटल व्यवसायी संघका अध्यक्ष उमेश मैनाली बन्द कोठामा बन्ने योजनाको बारेमा गेष्ट हाउस सञ्चालकलाई थाहा नहुने जिकिर गर्छन् । मैनालीले रातोपाटीसँग भने, ‘बसपार्क क्षेत्रमा संघले इन्ट्री पुस्तिका बनाएर वितरण गरेको छ । कसैले इन्ट्री नगरी कोठा दिएमा त्यो सञ्चालकको गल्ति हुन्छ ।’ बसपार्क क्षेत्रका गेष्ट हाउसमा हुने अवाञ्छित गतिविधि रोक्न प्रहरीसँग मिलेर साझा अभियान चलाउने गरेको मैनालीले जनाए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी प्रमेश विष्टले शुक्रवार बसपार्क क्षेत्रका गेष्ट हाउस सञ्चालकहरुसँग छलफल गरेका छन् । छलफलपछि सो क्षेत्रमा सञ्चालित गेष्ट हाउसलाई रिसेप्सन र मुख्य गेटमा सीसी क्यामरा राख्न आग्रह गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले भने, ‘१० दिनको समय दिएर सीसी क्यामरा राख्न भनेका छौं । नयाँ बसपार्कमा रहेका गेष्ट हाउसको निश्चित मापदण्ड नभएको एसएसपी गिरीले बताए । ‘प्रहरीले सवै कोठामा गएर हेर्न र चेकजाँच गरेर व्यक्तिगत अधिकार हनन गर्न मिल्दैन,’ परिसर काठमाडौँका एसएसपी गिरी भन्छन्,‘तर एउटा कोठामा एउटी महिलासँग ६ जना पुरुष जान्छन् भने त्यो कुरा गेष्ट हाउसले पनि बुझ्नुपर्छ ।’ प्रहरीसँगको छलफलपछि संघले पनि मूल गेट र रिसेप्सनमा सीसी क्यामरा राख्न व्यवसायीहरुलाई सुर्कलर जारी गरिसकेको नेपाली होटल व्यवसायी संघका अध्यक्ष उमेश मैनालीले बताए । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार