माओवादी अध्यक्षमा फेरि दाहाल निर्विरोध निर्वाचित…..

काठमाडौँ — आठौं राष्ट्रिय महाधिवेशनको हलबाट अपुरो केन्द्रीय समिति चयन गरेको अर्को दिन माओवादीले केन्द्रीय समिति बैठकबाट अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष, महासचिवलगायत केन्द्रीय पदाधिकारी चयन गर्न बसेको केन्द्रीय समिति बैठक तीन दशकभन्दा बढी पार्टी प्रमुख रहँदै आएका दाहाललाई अध्यक्ष चयन गरी पुस २५ सम्म स्थगित भएको छ । मुख्यगरी महासचिवमा सहमति जुट्न नसकेपछि पदाधिकारी चयन गर्ने बैठक एक साता धकेलिएको हो । महाधिवेशन हलले आइतबार २ सय ३६ सदस्यीय अपुरो केन्द्रीय समिति चयन गरेको थियो । महाधिवेशनबाट पारित माओवादीको विधानमा केन्द्रीय समितिले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्ने व्यवस्था छ । यसैअनुसार अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भएका हुन् । ललितपुरको सानेपामा बसेको बैठकमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नारायणकाजी श्रेष्ठले गरेका थिए भने समर्थन कृष्णबहादुर महराले गरेका थिए । श्रेष्ठको प्रस्ताव र महराको समर्थनलाई केन्द्रीय सदस्यले सर्वसम्मत स्वीकृत गरेका थिए । त्यसअघि नवनिर्वाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका थिए । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । तर, आवश्यकताअनुसार केन्द्रीय समितिले पदाधिकारीको संख्या थपघट गर्न सक्ने व्यवस्था पनि छ । अध्यक्ष निर्वाचित भए पनि अन्य पदाधिकारी भने पुस २५ मा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकबाट टुंगो लगाइने भएको छ । चीनमा उपचाररत वर्षमान पुन चाँडै स्वदेश फर्कने कारण देखाएर दाहालले पदाधिकारी चयन प्रक्रिया केही दिन पछाडि सारिएको बताए । ‘वर्षमान पुन र ओनसरी घर्तीले पदाधिकारीको चयनमा हामी पनि सहभागी हुन्छौं भनेर आग्रह गर्नुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य महराले भने, ‘पदाधिकारी, पोलिटब्युरो र स्थायी समितिको पनि गृहकार्य भइरहेको छ । पहिलो बैठकबाटै टुंगो लगाउनुपर्छ भनेर स्थगित गर्‍यौं । पुनले दाहाललाई फोन गरी आफू पनि महासचिवको दाबेदार भएकाले काठमाडौं फर्केपछि मात्र पदाधिकारी चयन गर्नुपर्ने बताएका थिए । ‘म महासचिवको उम्मेदवार हुँ, सहमति भए ठिकै छ, नभए चुनाव लड्छु,’ पुनको भनाइ उद्धृत गर्दै निकट एक नेताले भने । स्रोतका अनुसार आकांक्षीहरूको व्यवस्थापन गर्न जटिल भएपछि दाहालले अन्य पदाधिकारी चयन प्रक्रिया लम्ब्याएका हुन् । पदाधिकारीमा सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा देखिएको छ । केन्द्रीय समिति र अध्यक्ष निर्विरोध निर्वाचित भएकाले पदाधिकारीमा निर्वाचन हुने सम्भावना कमजोर बनेको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार