ललिता निवास प्रकरणमा सीआईबीले पक्राउ पुर्जी लिएका भीआईपीहरू…..

काठमाडौं,  बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबारसम्म ३ सयभन्दा बढीमाथि पक्राउ पुर्जी लिएको छ । जग्गा घोटाला प्रकरणमा सरकारी कागजात किर्ते प्रकरणमा मुछिएका ३ सय जनाभन्दा बढीमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा जफत फिर्ताको नाममा व्यक्तिको नाममा नामसारी गरेर १३७ रोपनीभन्दा बढी जग्गा गायब पारिएको सम्बन्धमा यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको थियो । अख्तियारले दोषीलाई कारबाही गर्दै जग्गा जफत गरी सरकारको नाममा ल्याउने प्रयोजनका लागि उक्त मुद्दा दायर गरेको थियो । विशेष अदालतमा उक्त मुद्दा चलिरहँदा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि ललिता निवास प्रकरणसँग जोडिएर करिब ३ सय जनाभन्दा बढीमाथि अनुसन्धान गरिरहेको छ । २०२३ सालदेखि सरकारी जग्गामा भएको गडबड र घोटालाको फेहरिस्त खोज्दै ललिता निवास प्रकरणमा जोडिएका ३ सय जनाभन्दा बढीमाथि अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकाबाहेक पनि अन्य व्यक्तिहरुलाई सरकारी कागजात किर्ते प्रकरणमा मुद्दा दायर गर्ने तयारी गरेको हो । काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार सीआईबीले हाल पक्राउ पुर्जी लिएका व्यक्तिहरूमा ७ जना सरकारी संयन्त्रमा रहेर काम गरिसकेका भीआईपी तथा तीनजना व्यापारिक घरानाका भीआईपीहरू समेत रहेका छन् । जिल्ला अदालत स्रोतका अनुसार पक्राउ पुर्जी दिइएकाहरूमा नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, अन्य पूर्व मन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र छविराज पन्त रहेका छन् । त्यसै गरी अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र पूर्व सचिव दिनेशहरि अधिकारीमाथि पनि पक्राउ पुर्जी जारी भएको अदालत स्रोतले जनाएको छ । त्यसै गरी ललिता निवास जग्गा प्रकरणका प्रमुख आरोपी मीन बहादुर गुरुङ, सुधीरकुमार शाह, आफ्नो जग्गा हो भन्दै दाबी गर्ने व्यापारीहरू श्रवणकुमार गोयल र कैलाश चन्द्र गोयलमाथि पनि पक्राउ पुर्जी जारी भएको छ । गोयल दाजुभाइ डीएल डेभलपर्सका मालिकहरू हुन् । डेभलपर्सको नाममा ललिता निवासभित्र करिब १६ रोपनी जग्गा रहेको छ ।

यसअघि आफ्नो पदको दुरुपयोग गरेर लाभ लिने वा लाभ नलिए पनि पदको दुरुपयोग गर्ने सरकारी कर्मचारी, सरकारी जग्गा व्यक्तिको नाममा बनाउन भूमिका खेल्ने तीनजना मुख्य अभियुक्त र जग्गा जफत प्रयोजनका लागि हालका जग्गाधनी समेतलाई विपक्षी बनाएर अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । तर अख्तियारले दायर गरेको मुद्दासँगै सीआईबीले सरकारी कागजात किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको थियो । सोही मुद्दामा सीआईबीले ३ सय जनाभन्दा बढीविरुद्ध मुद्दा लिएर जान लागेको हो ।  २०२३ सालदेखिकै ललिता निवास प्रकरणमा जोडिएका व्यक्ति, तिनका आफन्त, जग्गाको किनबेचमा जोडिएका बीचका व्यक्तिहरू सबैलाई पक्राउ पुर्जी जारी गरी मुद्दा लैजान लागिएको हो । त्यसका लागि सम्भव भए तत्काल पक्राउ गरेर बुझाउने, सम्भव नभए पक्राउ पुर्जी लिएर फरार प्रतिवादीका रूपमा मुद्दा बुझाउने सीआईबीको तयारी छ । त्यसैका लागि सीआईबीले बुधबारसम्म ३ सयभन्दा बढीमाथि पक्राउ पुर्जी लिइसकेको छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार