कोभिड बिरामीले खचाखच भरिँदै उपत्यकाका अस्पताल…..

काठमाडौं, टिचिङ अस्पतालमा एक साता अघिसम्म दैनिक एक दुई जना मात्रै कोभिड बिरामी भर्ना हुने गरेकोमा बुधबार मात्रै ९ जना कोभिड बिरामी भर्ना भएका छन् । जबकि त्यहाँ होल्डिङ सेन्टरमा १० जनासम्म बिरामीलाई मात्र राख्न मिल्छ । अस्पतालका छाती रोग विशेषज्ञ तथा कोभिड संयोजक डा. निरज बम भन्छन्, ‘कोरोनाका बिरामी कम हुँदा नन्कोभिड बिरामीलाई उपचार गर्दै आएको टिचिङले वार्डलाई पुनः कोभिड वार्ड बनाउने भएका छौं ।’ त्यहाँ कोभिडका बिरामीका लागि १८ बेड र १० वटा आइसीयू छुट्याइएको थियो । टिचिङ अस्पतालमा एक साता अघि दैनिक ५५/६० जनाले मात्रै पीसीआर परीक्षण गराउँदै आएकोमा पछिल्ला पाँच दिनयता परीक्षणका लागि दैनिक ३ सय जना बढीको लाइन लाग्ने गरेको छ । उता पछिल्लो एक सातामा नेपाल एपीएफ अस्पतालमा पनि सङ्क्रमित बिरामी भर्ना दर बढिरहेको प्रहरी उपरीक्षक डा प्रवीन नेपाल बताउँछन् । १० दिन अघिसम्म अस्पतालमा कोभिडका १० जना भर्ना थिए भने हाल ६० जना बिरामी उपचाररत रहेको डा. नेपालले बताए । जसमध्ये ६ जना बिरामी आइसीयूमा छन् । यस्तै कोभिड युनिफाइड केन्द्रीय अस्पताल तोकिएको वीर अस्पतालमा पनि भर्ना हुने बिरामीको सङ्ख्या बढ्दो छ । डा. प्रज्वल श्रेष्ठका अनुसार त्यहाँ पाँच दिनयता विगतको तुलनामा पाँच गुणा बढी सङ्क्रमित बिरामी अस्पताल आइरहेका छन् । बिहीबारसम्म ४६ जना सङ्क्रमित अस्पताल भर्ना भएको उनले बताए । त्यहाँ आइसीयूमा ६ जना, भेन्टिलेटरमा ३ जना र एचडियूमा ४ जना उपचाररत छन् । वीर अस्पताल पनि पीसीआर दैनिक करिब ३ सय जना पुग्ने गर्छन् । यस्तै, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना कोरोना सङ्क्रमित भर्ना भएका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार आइसीयूमा ६ जना र ५ जना एचडियूमा उपचाररत छन् । ओपीडीमा दैनिक ३० जना आइपुग्ने गरेका उनले बताए । टेकुमा एक साता अघिसम्म दैनिक ५०/५५ जनाले मात्रै पीसीआर गराउँथे भने हाल दैनिक १५० जनाले पीसीआर परीक्षण गर्ने गरेको अस्पतालका सूचना अधिकारी गौतमले बताए । उता पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार त्यहाँ दैनिक ३ सय पीसीआर परीक्षण गरेका मध्ये ४० प्रतिशतमा कोरोना पुष्टि भएको पाइएको छ । ‘कोरोना पुष्टि भएकोमा डेल्टा, ओमिक्रोन वा अन्य कुन भेरियन्ट हो भनेर पुष्टि हुँदैन,’ उनले भने, ‘यहाँ बिहीबारसम्म ४० जना कोभिड बिरामी अस्पताल भर्ना भएका छन् । आइसीयूमा ४ जनाको उपचार भइरहेको छ ।’

भर्ना भएका बिरामीको अवस्था

पाटन अस्पतालका निर्देशक डा.शाक्य भर्ना भएका कोभिडका बिरामीमा गम्भीर खालको स्वास्थ्य समस्या नदेखिएको बताउँछन् । उनले भने, ‘अहिले बिरामीको भर्ना दर र स्वास्थ्य अवस्था हेरेर भन्न सकिने अवस्था छैन । एपीएफ अस्पतालका डा. नेपाल अस्पतालमा सबै बिरामी लक्षण देखिएर भर्ना भएपनि तत्काल अक्सिजन दिइहाल्नुपर्ने बिरामी भर्ना नभएको बताए । उता टिचिङ अस्पतालका डा. बमले पनि अस्पताल भर्ना भएका मध्ये गम्भीर स्वास्थ्य अवस्थाका बिरामी तुलनात्मक रुपमा कम भर्ना भएको जनाए । आउँदो साता दश दिनपछि मात्रै अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाबारे भर्ना दरअनुसार अध्ययन गरेर केही भन्न सकिने उनी बताउँछन् ।

भर्ना हुने प्रायःले खोप लगाएका

काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा कोभिडका कारण अस्पताल भर्ना भएका प्रायः बिरामीले खोप लगाएको पाइएको छ । एपीएफ अस्पताल भर्ना भएका बिरामीमध्ये ८५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको पाइएको छ । पाटन, टिचिङ र टेकु अस्पतालमा कोभिड सङ्क्रमण भएर भर्ना भएका मध्ये धेरैजसोले खोप लगाएको पाइएको छ । कोभिड भई अस्पताल भर्ना भएका बिरामी सबैले खोप नलगाएको पाइएकाले खोप लगाउन छुटेकाले तत्काल खोप लगाउन टिचिङ अस्पतालका डा. बमको सुझाव छ । दुवै मात्रा खोप लगाएका दम, मुटु, मिर्गौला, प्रेसर लगायतका दीर्घरोगी कोभिड भई अस्पताल भर्ना भएको चिकित्सकहरू बताउँछन् । १९ पुसमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५६ जना थियो । १० दिनमा ह्वात्तै बढेर बिहीबार ३५ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार