नेपालमा सङ्क्रमण दर ३१.८ प्रतिशत पुग्यो…..

काठमाडौं, नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघ १ गतेसम्म आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो । शनिबार देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट सङ्क्रमण दर ३५.६ प्रतिशत र एन्टिजेन विधिबाट सङ्क्रमण दर २२.५ प्रतिशत रहेको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ रहेको छ । मन्त्रालयका अनुसार ७ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढी रहेका छन् । यसमा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र कास्की रहेका छन् । त्यस्तै आठ जिल्लामा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी सक्रिय सङ्क्रमित काठमाडौँमा छन् । यहाँ ९ हजार ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ललितपुरमा २ हजार ३८२ तथा भक्तपुरमा १ हजार ३७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र १५ सय ९१ जना सङ्क्रमित थपिएका छन् भने ललितपुरमा ४८६ तथा भक्तपुरमा १४२ जना सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप ३५० जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १६ हजार ३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमित थपिएसँगै नेपालमा निको हुने दर ९६.१ प्रतिशतमा पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु पनि भएको छ । कोभिड–१९ को मृत्युदर १.४ प्रतिशत रहेको नेपालमा हालसम्म ११ हजार ६१७ जनाको मृत्यु भइसकेको छ । देशभर थप ४ लाख ३५ हजार १९३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार