कोभिड संक्रमणको तेस्रो लहरमा ३४ को मृत्यु…..

काठमाडौँ — कोभिड संक्रमणको पछिल्लो मृत्यु ट्रेन्ड हेर्दा अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका एवं दीर्घरोगीले ज्यान गुमाइरहेको पाइएको छ । वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा संक्रमणले पछिल्लो तीन दिनमा मृत्यु भएका पाँच जनाले नै खोप लगाएका थिएनन् । अन्य स्वास्थ्य संस्थामा समेत खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका वा अरू रोग लागेका संक्रमितको मृत्यु भइरहेको छ । युनिफाइड केन्द्रीय अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठका अनुसार वीरमा शुक्रबार ३२ वर्षीय पुरुष, बिहीबार ३६ र ५० वर्षका दुई महिला एवं ८९ वर्षका एक पुरुष र बुधबार ६९ वर्षकी महिलाको मृत्यु भएको थियो । ‘दोस्रो लहरको डेल्टा भेरिएन्टको दाँजोमा ओमिक्रोन संक्रमणमा मृत्यु दर कम छ,’ डा. श्रेष्ठले भने, ‘वीरमा मृत्यु भएका पाँचै जना खोप नलगाएका हुन्, उनीहरूमध्ये धेरैमा कोमर्बिडिटीसमेत देखिएको थियो । शुक्रबार मात्रै कोभिडका कारण ३ जनाको मृत्यु भएको छ । ‘हालसम्म मन्त्रालयमा आएको ३४ जनाको मृत्यु प्रतिवेदनमा ४ जनाले मात्र खोप लगाएको देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । तेस्रो लहर सुरु भएयता शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको उनले बताए । अधिकारीका अनुसार मृत्यु हुनेहरूमा ८८.२३ प्रतिशत खोप नलगाएका छन् । पछिल्लो एक सातामा मात्रै देशभर २२ जनाको मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा समेत पछिल्लो एक सातामा दुई जना खोप नलगाएका र दुई जना पूर्ण खोप लगाए पनि दीर्घरोग भएकाको मृत्यु भएको निर्देशक डा. दिनेश काफ्लेले बताए । गत माघ ३० गते दुई मात्रा खोप लिइसकेकी ७१ वर्षीया एक जना दीर्घरोगी र उस्तै रोग भएकी खोप नलिएकी ५३ वर्षीया महिलाको मृत्यु भएको थियो । यस्तै, शिक्षण अस्पतालमा माघ १ गते खोप नलाएकी र दीर्घरोग भएकी ५३ वर्षीया महिला र बिहीबार पनि दुवै मात्रा खोप लगाएकी दीर्घरोगी अर्की ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार एक जना, बिहीबार २ गरी पछिल्लो १० दिनमा ५ जनाको मृत्यु भए पनि उनीहरू खोप लगाएका वा नलगाएका बारे यकिन नभएको डा. रवि शाक्यले बताए । हाल देशभर १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा छन् । उपत्यकामै ६३ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार