भारतले एकतर्फी संरचना निर्माण गर्दा नेपाल सरकार मूकदर्शक…..

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू-भागमा एकतर्फी संरचना निर्माण गरिरहँदा पनि सरकारले आफ्नो अडान स्पष्ट पार्न नसकेको बताएका छन् । उनले भारतले एकतर्फी रुपमा संरचना निर्माण गरिरहँदा नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने सरकारले निरीहता प्रकट गरिरहेको बताएका हुन् । ओलीले आइतबार विज्ञप्ति जारी गर्दै वर्तमान सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूक दर्शक बनेको आरोप लगाएका छन् । उनले भनेका छन्,’ अहिले मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू देखा परेका छन् । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा विदेशीहरूका लागि ‘कम्फर्टेबल’ बन्ने वचनबद्धतासहित गठन भएको सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको छ । यस्तै, भारतसँग ऐतिहासिक सन्धि दस्तावेज र प्रमाणका आधारमा सीमा विषय टुंगो लगाउन सार्थक पहल नगरेको ओलीले बताएका छन् । ओलीले भारतीय सुरक्षाकर्मीद्वारा तुइन चुँडाइएर महाकालीमा बेपत्ता पारिएका जयसिंह धामी प्रकरणमा पनि सरकार लाचार बनेको उल्लेख गरेका छन् ।

महाकालीमा फेरि तटबन्ध बनाउँदै भारत

उनले चीनसँगको सीमा विवाद सम्बन्धमा गठन भएको समितिले बनाएको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन् । उनले भनेका छन्,’ विगतमै टुंगिसकेको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रूपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदनलाई गुपचुप राखेर छिमेकी राष्ट्रसँगको सम्बन्धमा आशङ्का र अविश्वास पैदा गर्ने काम गरिरहेको छ ।  एमसीसीको विषयमा सरकारको आधिकारिक धारणा पनि दिन नसकेको ओलीले बताएका छन् । उनले सत्ता गठबन्धनकै नेताहरूका कारण विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेको बताएका छन् । ओलीले विज्ञप्तिमा भनेका छन्,’अमेरिकी अधिकारीहरूसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताहरूले द्वैध भूमिका खेलिरहेका छन् र जनतालाई दिग्भ्रमित पारिरहेका छन् । उनीहरूले हिजो आफैले हस्ताक्षर गरेको सम्झौता ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि अध्ययन कार्यदल बनाउने जस्ता हास्यास्पद र कच्चा काम गरिरहेका छन् । राजनीतिक पूर्वाग्रहका आधारमा एकैचोटी दर्जनौं मुलुकहरूबाट राजदूत फिर्ता गराइएको र विभिन्न मुलुकस्थित नियोगहरूलाई महिनौसम्म राजदूतविहीन बनाउने गैरजिम्मेवार काम सरकारबाट भएको ओलीले जनाएका छन् । सरकारको यस्तो गतिविधिका कारण मुलुकको बाह्य सम्बन्ध असहज अवस्थामा पुर्‍याइएको ओलीको दाबी छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार