जाडोमा कोठामा हिटर, कोइला र दाउरा बाल्दा, असावधानीले लिँदै छ ज्यान…..

काठमाडौँ — जाडोयाममा कोठा न्यानो पार्नका लागि कोइला, दाउरा, हिटर आदि बालेर सुत्दा मृत्यु हुने क्रम बढ्दो छ । काठमाडौं प्रहरीका अनुसार एक महिनायता जिल्लामा ५ जनाको अकालमै ज्यान गएको छ । गत बिहीबार मात्रै शंखरापुर नगरपालिका–३ बोजेनीमा कोठामा कोइला बालेर सुत्दा दुई जनाको मृत्यु भयो । अघिल्लो साँझ खाना खाएपछि कोइला बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङको सुतेकै अवस्थामा मृत्यु भएको हो । ‘कोइला बालेर सुतेको पाइयो, निसासिएर मृत्यु भएको हुन सक्छ,’ काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले भने, ‘पोस्टमार्टमको रिपोर्ट आएको छैन, रिपोर्टले घटनाको यथार्थ खुल्नेछ । त्यसैगरी तीन महिने शिशुलाई तेल लगाउन बालेको कोइला ननिभाइ सुत्दा रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चा बस्ने माघ ८ मा २८ वर्षीय पसुना तामाङ र उनका पति ३० वर्षीय अभिषेक रम्तेल बिहान बेहोस अवस्थामा भेटिए । शिशुको मृत्यु नै भयो । रम्तेल दम्पती बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तीनै जनालाई थिमिस्थित मध्यपुर अस्पताल पुर्‍याउँदा शिशुको मृत्यु भइसकेको थियो । रम्तेलको सोही दिन र पत्नी पसुनाको दुई दिनपछि मात्र होस आएको अस्पतालले जानकारी दिएको छ । कोइलाबाट निस्किएको कार्बन मोनोअक्साइडका कारण शिशुको मृत्यु र अभिभावक अचेत भएको अस्पतालका चिकित्सकले बताए । चिकित्सकका अनुसार बिजुली, कोइला, दाउरा तथा ग्यास उपयोग गर्दा निस्कने ग्यास जुन देख्न, सुँघ्न र महसुस गर्न सकिँदैन, त्यो कार्बन मोनोअक्साइड हो, जसलाई अदृश्य हत्यारा वा मौन हत्यारा पनि भनिन्छ । बिनाकुनै संकेत र लक्षण कसैको ज्यान लिन सक्ने अवस्था वा कारकका रूपमा यसलाई लिइन्छ । ग्यास बाहिर जान नपाएपछि कहिलेकाहीँ मानिसको निसासिएर अचानक मृत्यु हुने गरेको भक्तपुर अस्पतालका छाती रोग विशेषज्ञ डा.कुन्दन सिंह कार्कीले बताए । उनका अनुसार गुम्म पारेर मकल, आगो तथा हिटर बालेको कोठामा सास लिँदा त्यसबाट निस्किएको कार्बन मोनोअक्साइड ग्यास फोक्सोमा जान्छ । फोक्सोले रगतका कोषिकाहरूमा अक्सिजन पुर्‍याउने काम गर्छ । कार्बन मोनोअक्साइडले रगतमा रहेको रक्तकोषिकाबाट अक्सिजनलाई हटाइदिन्छ, जसका कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुको चालसमेत गडबड हुने गर्दछ । ‘कार्बन मोनोअक्साइडले शरीरमा भएको अक्सिजन बाहिर फालिदिने गर्छ, त्यही कारण अक्सिजनको मात्रा कम हुन्छ,’ उनले भने ।

पुस १० मा कोठामा कोइला बालेर सुत्दा दाङ तुल्सीपुर उपमहानगर–१० घर भई बाँसबारी जलढुंगा मार्ग बस्ने २१ वर्षीया निमा चौधरीको र पुस ५ मा नुहाउने क्रममा बाथरुममा बेहोस भएका बागबजारस्थित काठमाडौं मोडल कलेजका विद्यार्थी १८ वर्षीय सुशील सहनीको मृत्यु भयो । घरको छतमा साँझ ताप्न बालेको कोइला कोठामा लगेर सुत्दा निसासिएर चौधरीको ज्यान गएको हो । कलेजको होस्टलमा बस्ने रौतहट गढिमाई नगरपालिका–९ का १८ वर्षीय सहनीको भने ग्यास गिजरमा पानी तताएर नुहाउने क्रममा बेहोस भएर मृत्यु भएको हो । उनलाई मोडल अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए । काठमाडौं प्रहरी प्रवक्ता एसपी मैनालीका अनुसार अक्सिजनको कमी भएर मृत्यु भएको चिकित्सकको रिपोर्ट छ । कोठामा हिटर, कोइला र दाउरा बाल्दा झ्यालढोका खुला राख्न, रातभर नबाल्न र हिटरनजिकै नबस्न डा.कार्कीले सुझाए । ‘मकल, हिटर बाल्दा झ्यालढोका खुल्ला राख्दा कोठामा हावा आवतजावत गर्न पाउँछ, बाहिरको स्वच्छ र स्वस्थ हावा भित्र आउँछ र भित्रको दूषित हावा बाहिर जान पाउँछ,’ उनले भने । महानगरीय प्रहरी परिसर काठमाडौंले बिजुली, कोइला, दाउरा तथा ग्यासको प्रयोग गर्दा सर्वसाधारणले सावधानीका उपाय अपनाउन अनुरोध गर्दै आएको छ । हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने/हिटर बाल्ने वा गिजर प्रयोग गर्ने, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडाजस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्ने, आगो तापिसकेपछि त्यसलाई पूर्णरूपमा निभाउन नबिर्सने, सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्नेलगायतको कार्य गर्न प्रहरीले अनुरोध गरेको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार