नेपालमा पेट्रोलको मूल्य इतिहासकै उच्च…..

काठमाडौँ — पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मंगलबार प्रतिलिटर ३/३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोल १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मूल्यवृद्धिमा इतिहासकै सर्वाधिक हो । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ सूचीअनुसार बढेको जनाउँदै निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । २०७० फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ पुगेको थियो । तर त्यसपछि मूल्य घटेर २०७३ साउनमा प्रतिलिटर ९७ रुपैयाँसम्म भएको थियो । मूल्यमा पुन: उतारचढाव हुँदै २०७६ चैतमा प्रतिलिटर ९६ रुपैयाँ पुगेको थियो । त्यसयता बढ्न थालेको मूल्य उपभोक्तालाई राहत हुने गरी घटेको छैन । पेट्रोल मात्र नभई अहिले डिजेल र मट्टीतेलको मूल्य पनि हालसम्मकै उच्च हो । ‘कच्चा तेलको मूल्यसँगै डलर पनि बलियो भएको छ,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘यही कारणले मूल्य निरन्तर बढेको छ । निगम मूल्य बढाउन बाध्य छ ।’ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल प्रतिब्यारेल बढेर ९० डलरसम्म पुगेकाले यहाँ पनि मूल्य बढेको उनले बताए । यद्यपि मूल्य बढ्नुको प्रमुख कारण कच्चा तेल मात्रै नभई डलरको विनिमय दर रहेको निगमले जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोल २०७० सालको भन्दा प्रतिलिटर २ रुपैयाँ मात्रै महँगो भएको बताए । ‘अहिले क्रुड आयल प्रतिब्यारेल ९० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल १ सय डलरसम्म पुग्ने प्रक्षेपण भइरहेको छ,’ उनले भने, ‘समयमै मूल्य समायोजन नहुँदा निगम डुब्ने अवस्था पुगेको छ । ऋण लिएर इन्धनको भुक्तानी गर्नुपर्ने बाध्यता भएको छ ।’ आईओसीले मंगलबार पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ९२ पैसा, डिजेलमा ७ रुपैयाँ २४ पैसा, मट्टीतेलमा ८ रुपैयाँ ८० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ४८ पैसा बढेर आएको उनले बताए । मूल्य समायोजन हुँदा पनि निगमलाई १५ दिनमा २ अर्ब २३ करोड रुपैयाँ नोक्सान रहेको दाबी उनको छ । ‘मट्टीतेल र हवाई इन्धनबाहेक १५ दिनको अवधिमा पेट्रोलमा ४३ करोड, डिजेलमा १ अर्ब १ करोड, ग्यासमा १ अर्ब नोक्सान छ,’ उनले भने, ‘विनिमय दरका कारण पनि निगमलाई धेरै नोक्सान भयो ।’

२०७० फागुनमा पेट्रोल १ सय ४० प्रतिलिटर हुँदा कच्चा तेल प्रतिब्यारेल १ सय ८ डलर थियो । तर, डलरको विनिमय दर नेपाली ९८ रुपैयाँ मात्रै थियो । अहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलर पुगेको छ । तर, डलरको भाउ बढेर १ सय १९ रुपैयाँ ९७ पैसा पुगेको छ । यही कारणले पनि इन्धनको मूल्य बढेको निगमले जनाएको छ । इन्धनको मूल्य बढिरहँदा प्रत्यक्ष मर्का उपभोक्तालाई पर्छ । इन्धनको मूल्य बढेसँगै व्यवसायीले ढुवानी भाडा बढाउँछन् । ढुवानी र सार्वजनिक यातायातको भाडा बढेसँगै खाद्यान्नलगायत अन्य वस्तुको पनि मूल्य बढ्ने सम्भावना उच्च हुन्छ । इन्धनमा लाग्ने करको दरले पनि भाउ घट्न नसकेको हो । निगमको तथ्यांकअनुसार आईओसीबाट ८४ रुपैयाँ ३२ पैसामा खरिद गरेको पेट्रोलमा ५८.४८ रुपैयाँ कर लाग्छ । त्यस्तै ८५ रुपैयाँ ४२ पैसामा खरिद गरिने डिजेलमा ४१ रुपैयाँ १६ पैसा कर लाग्छ । त्यसमा निगमको खर्च, ढुवानी भाडा, पेट्रोलियम विक्रेता खर्च/मुनाफासहित जोडेर बिक्री मूल्य तय हुन्छ । पटक–पटक कर थोपरिँदा उपभोक्तालाई थप भार परेको छ । यसमध्ये पनि १५ रुपैयाँ कर कोभिड कालमै मात्रै बढाइएको निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । विविध शीर्षकमा थपिएको कर घटाएर सर्वसाधारणलाई राहत दिनुपर्ने उनले बताए । ‘तत्काल राहत दिन प्रतिलिटर १५ रुपैयाँ कर घटाउनुपर्छ । बढेको मूल्य समायोजनको विकल्प पनि छैन,’ उनले भने, ‘एक वर्षको अवधिमा इन्धनको मूल्य ३० रुपैयाँ बढ्दा त्यसमा ५ रुपैयाँ कर नै छ । सरकारी कर पनि बढेको छ । त्यसलाई पनि मिलाउन आवश्यक छ ।’ यस्तै, ग्यासमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) पनि हटाउनुपर्ने उनले बताए । हाल प्रतिसिलिन्डर ग्यासमा २ सय ५० रुपैयाँ भ्याट लाग्छ । निगमलाई सर्वाधिक नोक्सानी एलपी ग्यासमा भइरहेको छ । २०१६ यता ग्यासबाट मात्रै निगमलाई ३० अर्ब रुपैयाँभन्दा बढी नोक्सान भइसकेको छ । ग्यासमा पनि स्वचालित मूल्य प्रणाली लागू भए केही हदसम्म राहत हुने निगमका अधिकारीहरू बताउँछन् । तर, ग्यास हरेकका भान्सासँग जोडिएकाले स्वचालित मूल्यमा लैजान सरकार पन्छिएको छ । निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले निरन्तर घाटा भएपछि आईओसीलाई भुक्तानी गर्न मूल्य स्थिरीकरण कोषबाट पूर्ति गर्नुपर्ने बाध्यता भएको बताए । ‘७ महिनाको अवधिमा आईओसीले १४ पटक नयाँ मूल्य पठायो । धेरै बढेर आए पनि जम्मा ४ पटक समायोजन हुन सक्यो । त्यसले निगमलाई घाटामा लग्यो,’ उनले भने, ‘६ महिनाको अवधिमा निगमको नोक्सानी १९ अर्ब पुगेको छ । अब ऋणबाहेकको विकल्प छैन ।’ साहका अनुसार मूल्य स्थिरीकरण कोषमा करिब १४ अर्ब रुपैयाँ थियो । यस्तै, निगमले मंगलबार रातिदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय १६ कायम गरेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १०० ले बढाएर १ हजार ९५ डलर तोकेको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटबढ गरेको छैन ।    साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार