मौरिससमाथि नेपालले १-० को जित, गोलभन्दा कार्डको वर्षा…..

काठमाडौं, तनावपूर्ण बनेको दोस्रो मैत्रीपूर्ण खेलमा नौ खेलाडीमा सीमित मौरिससमाथि नेपालले १-० को जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पनि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा शनिबार अफ्रिकन पाहुना टोलीलाई समान १-० ले नै पराजित गरेको थियो ।  १०औँ मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालको जितमा पर्याप्त बन्यो । नवीन गुरुङले प्रहार गरेको कर्नर मौरिससका खेलाडीबाट रिबाउन्ड आएपछि आशिष लामाले प्रहार गरे । आशिषको प्रहारमा पुजन उपरकोटीले गरेको ब्याक फ्लिकलाई सुजलले पनि ब्याक फ्लिकमार्फत नै बललाई पोस्टको दिशा दिए । मैत्रीपूर्ण खेलमा मौरिससबिरुद अग्रता दिलाउदा सुजलले ६ वर्षपछि गोल गरेका हुन् । यो उनको राष्ट्रका लागि तेस्रो गोल समेत हो । यस अघि सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए । सुजनले यस अघि टिमोर लिस्टे र लाओसबिरुद्द गोल गरेका हुन् । लगत्तै अर्को मिनेटमा मौरिससले पेनाल्टीमा गोल गर्ने सुनौलो अवसर गुमायो । नेपाली डिफेन्डर दिनेश राजवंशीले लिन्सले ब्रेजमाथि १८ यार्ड बक्सभित्र फउल गरेपछि मौरिससले पेनाल्टी पाएको थियो । तर, मौरिससका कप्तान एन्डि सोफीले गरेको प्रहार नेपाली कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाए । ३६औँ मिनेटमा तेज तामाङले करिब २५ यार्डबाट गरेको प्रहार पोस्टको केहि इन्च परबाट बाहिरियो । ​३९औँ मिनेटमा पुजनले प्रहार गरेको फ्रिकिकलाई अफ मार्क रहेका दर्शन गुरुङले गरेको हेड बारमाथिबाट बाहिरियो । ५१औँ मिनेटमा मौरिससका भासिस्ट क्यालकाटाले बक्स बाहिरबाट गरेको प्रहार किरणले बचाए । ​६८औँ मिनेटमा एन्डि सोफीेले गरेको सशक्त प्रहार जोगाउँदै किरणले नेपालको संकट टारे । खेलको दोस्रो हाफ निकै तनावपूर्ण बन्यो । दोस्रो हाफको ७१औँ मिनेटमा हात हालाहालमा उत्रिए पछि रेफ्रीले दुबै देशका एक एक खेलाडीलाई रातो कार्ड देखाए । नेपालका पुजन उपरकोटी र मौरिससका एड्रियन बोटलरले रातो कार्डको दर्शन गरे । यसै बेला रेफ्री नवीन्द्र महर्जनले नेपालका गोलकिपर प्रशिक्षक विकाश मल्ललाई समेत रातो कार्ड दर्साए । ​७९औँ मिनेटमा इम्यानुयल फुलचुन्डले दोस्रो पहेलो कार्डपछि रातो कार्डको दर्शन गरे । उनले ६२औँ मिनेटमा पहिलो पहेलो कार्ड बेहोरेका थिए । ८९औँ मिनेटमा फ्लड लाइटको लक्स घटेपछि भएपछि खेल करिब १० मिनेट अवरुद्ध बनेको थियो । दोस्रो खेलमा प्लेइङ सेटमा खेल्दै नवीन गुरुङले डेब्यु गरे । जारी लिगमा एन आर टी क्लबबाट खेलिरहेका राइट ब्याक नबिन पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार