स्थानीय निर्वाचनमा कोरोनाको छाया, छुट्टै मापदण्डको तयारी…..

काठमाडौं, ०७४ वैशाख ३१, असार १४ र असोज १ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरूको पदावधि जेठ ५ गते समाप्त हुँदैछ । निर्वाचन आयोगले जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव गरेको छ । सरकारलाई मिति प्रस्ताव गरेसँगै निर्वाचन आयोग कोरोना महामारीका बीचमा चुनाव गर्नु पूर्व र पश्चात्का कार्यको तयारीमा जुटिरहेको छ । प्रस्तावित मितिअनुसार अब स्थानीय तहको चुनाव हुन करिब साढे तीन महिना बाँकी छ । नेपालमा हाल कोरोना सङ्क्रमणको तेस्रो लहर कायम छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघको तेस्रो सातादेखि कोरोना सङ्क्रमण दर न्यून हुँदै जाने प्रक्षेपण गरेको छ । यद्यपि जनस्वास्थ्य विज्ञहरूले अबको साढे तीन महिना पछि कोरोना भइरसका नयाँ भेरियन्टहरुले कस्तो हर्कत देखाउँछ सक्छ भन्ने कुरा थाहा नहुने भएकाले सङ्क्रमणको जोखिम कायम रहने बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. तथा सङ्क्रामक रोग विशेषज्ञ जनक कोइरालाले पहिलो÷दोस्रो र तेस्रो लहरमा जस्तो सङ्क्रमण नबढ्ने अनुमान लगाउँछन् । ‘अबको साढे तीन महिनासम्ममा भाइरसको नयाँ भेरियन्ट पुष्टि भई असहज स्थिति ल्याउन पनि सक्छ,’ उनले भने, ‘हाल लगाइ रहेका खोपले काम नगर्न पनि सक्छ तर, मैलै यो भनिरहँदा नयाँ भेरियन्ट म्युटेसन भई गाह्रो बनाइहाल्छ भन्ने १०० प्रतिशत निश्चितता चाहिँ होइन, तर, आशा गरौँ यस्तो अवस्था सिर्जना हुँदैन । यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जेठ ४ सम्म धेरै जना खोपको पहुँचमा पुग्ने र सङ्क्रमित पनि धेरै जना भएकाले सङ्क्रमण नबढ्ने अनुमान लगाउँछन् । ‘कोरोना भाइरसले स्वरूप परिवर्तन गरिरहने भएकाले अबको साढे तीन महिना पछि उत्परिवर्तन भएका भेरियन्टहरुले कस्तो अवस्था सिर्जना गर्छ भन्ने कुरा हो ,उनले भने, अबको साढे तीन महिनासम्ममा नयाँ भेरियन्ट पनि देखिन सक्छ । नयाँ देखिएको भाइरसले कस्तो हर्कत देखाउँछ भन्ने कुरा पनि हो । यद्यपि नयाँ भेरियन्ट आउँछ नै भनेर मैले ठोकुवा गर्न मिल्दैन । उनले स्थानीय तहको चुनाव ताका भाइरस शिथिल भएको खण्डमा पनि सङ्क्रमण फैलन सक्ने बताउँछन् । ‘कोरोना भाइरस भिडभाड जमघट, पार्टी समारोहबाट बढी फैलन्छ,’ उनले भने, ‘आगामी दिन नयाँ नयाँ भेरियन्टहरुले कस्तो खालको हर्क देखाउँछ त्यस आधारमा जोखिम कायम छ । सङ्क्रामक रोग विशेषज्ञ डा. कोइराला भन्छन्, ‘चुनाव ताका पनि सङ्क्रमण दर फैलावट कायम रहेमा देशभर कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गराउनुको विकल्प छैन ।

चुनाव अवधिमा कोरोना महामारी फैलन नदिन कसरी सजगता अपनाउने भन्ने विषयमा पूर्ण रूपमा तयारीका अगाडि बढ्नु पर्ने उनले बताए । चुनाव घोषणा भइसकेपछि गाउँदेखि सहरसम्म जमघट भेला, पार्टी समारोह नियमित चल्ने भएकाले सबैले सावधानी अपनाउनुपर्ने र सङ्क्रमण दर कम भए पनि विश्वबाट कोरोना नहराएकोले ठूला भेला, प्रचार प्रसार, सभा समारोहमा सहभागी हुने शैलीलाई अब परिवर्तन गर्नुपर्ने उनी बताउँछन् । चुनावी प्रचारप्रसार, भेला, सभा समारोह सकेसम्म भर्चुअल माध्यबाट गर्न, प्रसारप्रसारका लागि सञ्चार माध्यम, सामाजिक सञ्जाल अर्थात् इन्टरनेटबाट विभिन्न प्ल्याटफर्मको प्रयोग सबै राजनीतिक दलदेखि निर्वाचन आयोगले व्यवस्था गरेको खण्डमा सङ्क्रमण जोखिम कम हुने डा.कोइराला बताउँछन् । यस्तै, निर्वाचनसम्बन्धी आयोगले जनचेतना फैलाउँदा र राजनीतिक दलहरू प्रचारप्रसार अभियान सञ्चालन गर्दा अनिवार्य खोप, मास्कको प्रयोग, सामाजिक दुरी कायम लगायतका जनस्वास्थ्यका मापदण्ड पालनासम्बन्धी सँगसँगै प्रचारप्रसार गर्ने कार्यलाई तीव्रता दिन उनले आग्रह गरे । निर्वाचन आयोगका सहायक प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन व्यवस्थापनमा कोभिड नियन्त्रणसम्बन्धी छुट्टै मापदण्ड जारी गरी कार्यान्वयन गर्ने गराउने बताए । माघ १२ गते कोरोना महामारी तीव्र गतिमा फैलँदा समेत आयोगले सहज रूपमा राष्ट्रियसभाको निर्वाचन सम्पन्न गरेको बताउँदै स्थानीय चुनाव पनि जनस्वास्थ्य मापदण्ड पालना गराएर नै सम्पन्न हुने सह प्रवक्ता शर्माको जिकिर छ । महामारीमाबीचमा राष्ट्रियसभाको चुनावदेखि अन्य चुनाव आयोगले सम्पन्न गरिसकेको छ,’ उनले भने, ‘सङ्क्रमणको तेस्रो लहर ओरालो लाग्दो क्रममा पनि रहेकाले चुनाव ताकासम्म अझै सहज हुन्छ होला । यस्तै, आयोगले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्दा जनस्वास्थ्यका मापदण्ड लागू गर्नुपर्ने बताएको छ । सोमबार प्रधानमन्त्री देउवालाई आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको पदाधिकारीहरूको भेटका क्रममा स्वास्थ्य मापदण्ड लागू गर्ने सम्बन्धी लिखित प्रस्ताव गरेको थिए । खोप अभियानलाई व्यापक बनाई सबैले खोप लगाएको सुनिश्चित गर्नुपर्ने आयोगले जनाएको छ । यस्तै, सङ्क्रमित मतदातालाई समेत मतदानको विशेष प्रबन्ध मिलाउने, मास्कको प्रयोग, मतदान केन्द्रमा हातको सरसफाइ गर्ने व्यवस्था, निश्चित सामाजिक दुरी कायम गर्ने, गराउने, मतदान केन्द्र एवम् मतगणना स्थलको निसङ्क्रमणको व्यवस्था गर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार