स्वास्थ्य केन्द्रको जग्गा व्यक्तिको नाममा दर्ता …..

नवलपरासी — नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ८ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको ४ कोठे पक्की भवन रहेको डेढ कठ्ठा जग्गा राष्ट्रिय आवास कम्पनी धनेवाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ स्थित ५ क कित्ता नम्बर ६१९२ को १ कठ्ठा १५ धुर जग्गामा आधारभुत स्वास्थ्य केन्द्रको ४ कोठे पक्की भवन निर्माण भएको थियो। स्वास्थ्य मन्त्रालयले ३५ लाखको लागतमा बनाएको ४ कोठे पक्की स्वास्थ्य केन्द्रको भवन निर्माण सकेको एक महिनापछि नै उक्त भवन र त्यसले ओगटेको जग्गाको पुर्जा व्यक्तिको नाममा सारिएको हो। मालपोत कार्यालय र नापी कार्यालय कावासोतीको समेत मिलेमतोमा राष्ट्रिय आवास कम्पनी धनेवा (पश्चिम नवलपरासी)ले उक्त जग्गा कावासोतीकै हरिभक्त कंडेलको नाममा जग्गाधनी पुर्जा दिएको पाइएको छ । कावासोती नगरपालिकाले भने आवास कम्पनी धनेवालाई २०७६ साल भदौ ९ गते पत्र लेखेर उक्त कित्तामा वडा कार्यालय भवन बनाउनु पर्ने भएकाले कोही/कसैलाई नदिनू भनेर निर्देशन दिएको थियो । नगरपालिकाको लिखित पत्रलाई बेवास्ता गर्दै कावासोती मालपोत, नापी कार्यालयको समेत मिलोमतोमा आवास कम्पनी धनेवाले हरिभक्त कंडेलको नाममा ०७७ साल पुस ९ गते जग्गाधनी पुर्जा दिएको हो । नगरपालिकाले आवास कम्पनीलाई पत्राचार गर्ने बेलासम्म उक्त जग्गाको कित्ता काटसमेत भएको देखिँदैन । वडाध्यक्ष आनन्द गुरुङ भन्छन्, ‘पछि राष्ट्रिय आवास कम्पनीको नाममा गयो । त्यो जग्गामा स्वास्थ्य कार्यालयको भवन निर्माण भइसकेपछि त्यो सबै जग्गा जग्गा व्यक्तिको नाममा पुर्जा बनेको भेटियो । सार्वजनिक जग्गा व्यक्तिको नाममा दिएर आवास कम्पनीले अनियमितता गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । वडा नम्बर ८ का वडा सदस्य देवी पौडेलका अनुसार त्यो जग्गामा वडा कार्यालय वा अन्य सरकारी प्रयोजनमा उपयोग गर्ने भनेर पत्र पठाइसकेपछि पनि जानाजान मिलेमतोमा अनियमितता गरेको देखिन्छ । हामीले कसैलाई नदिनू भनेको जग्गा व्यक्तिलाई पुर्जा दिएछन्,’ पौडेल भन्छन् ‘आवास कम्पनीबाटै सरकारी सम्पत्तिको हिनामिना भयो ।’ आवास कम्पनी धनेवाका प्रमुख महेन्द्र थापाले भने यसबारे विस्तृतमा बोल्न चाहेनन् । यद्यपि उनले आफू केही दिन व्यस्त रहेकाले केही दिनपछि ‘हेरेर जानकारी दिने’ बताएका छन् ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार