जसपामा बहुमत पुर्‍याउन तँ छाड म छाड….

काठमाडौं, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाउन आनाकानी गरेपछि सो पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष विकल्पको खोजीमा लागेको छ । अध्यक्ष भट्टराई पक्षका नेताहरूले अध्यक्ष यादवलाई बैठक बोलाउन पटक पटक आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि विकल्पको खोजी भइरहेको हो । अध्यक्ष भट्टराई पार्टीमा बहुमत पुर्‍याउनका लागि पार्टीका सांसद तथा कार्यकारिणी सदस्यहरूलाई मिलाउने प्रयासमा लागेका छन् । संसदीय दलमा आफ्नो बहुमत पुर्‍याइसकेका भट्टराई पार्टीभित्र पनि बहुमत पुर्‍याउने कसरतमा लागेको छन् । महन्थ ठाकुर पक्षबाट जसपामा आएका अधिकांश सांसदहरूले डा.बाबुराम भट्टराईलाई साथ दिने भएका छन् । महन्थ ठाकुर पक्षबाट अध्यक्ष उपेन्द्र यादवलाई महेन्द्र राय यादव, राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, नरमाया ढकाल, रुही नाज, मृगेन्द्रकुमार सिंह यादव, रानी मण्डल, रेणुका गुरुङ रहेका छन् । त्यसमध्ये महेन्द्रराय यादवले खुलेर समर्थन गरिरहेका छन् । त्यस्तै, अमृता अग्रहरी, नरमाया ढकाल, रुही नाज, रानी मण्डल पनि उपेन्द्र यादवबाट असन्तुष्ट भएर अध्यक्ष भट्टराईलाई साथ दिने भनिएको स्रोतले जनाएको छ । त्यस्तै, उपेन्द्र यादव पक्षका इस्तियाक राइ र प्रदीप यादवले पनि डा.भट्टराईलाई साथ दिएका छन् । अध्यक्ष उपेन्द्र यादव पक्षकै डा.सुरेन्द्र यादवले समेत अध्यक्ष भट्टराईलाई साथ दिने भएको छ । अध्यक्ष यादव पनि आफ्नो सांसद तथा नेता जोगाउन दौडधुपमा छन् । अध्यक्ष यादव पक्षका नेताहरू सांसद तथा कार्यकारिणी सदस्यका नेताहरू घरघर पुगेर उनीहरूलाई फकाउने प्रयास गरिरहेका छन् । जसपा नेपालमा १९ जना सांसद छन् त्यसमध्ये डा.बाबुराम भट्टराईको पक्षमा १२ जना सांसद पुगेको दाबी गरिएको छ । बाबुरामलाई महेन्द्रराय यादव, इस्तियाक राइ, प्रदीप यादव, राजकिशोर यादव, डा.सुरेन्द्र यादव, नरमाया ढकाल, रानी मण्डल, रुही नाज, रेणुका गुरुङ, अमृता अग्रहरी र ललित देवी सिटौलाले समर्थन गर्ने स्रोतको दाबी छ । बाबुराम पक्षमा एक सांसदले भने, ‘सांसदबाट पार्टी विभाजन गर्न आठजना सांसद चाहिन्छ तर बाबुराम पक्षमा १२ जना सांसद छन् । जाँदा जाँदै दुई चारजना कम भए पनि बहुमत बाबुरामकै पक्षमा हुन्छ । त्यस्तै, पार्टीको कार्यकारिणी समितिमा पनि आफ्नो बहुमत रहेको बाबुराम पक्षको दाबी छ । ३५ जना केन्द्रीय कार्यकारिणी समितिमा १८ जना आफ्नो पक्षमा रहेको दाबी बाबुराम पक्षको भनाइ छ । साथीहरूको बीचमा छलफल चलिरहेको छ, उपेन्द्र यादवले बैठक बोलाएनन् भने संविधान तथा पार्टीको विधान अनुसार अगाडि बढ्ने बाबुराम पक्षका नेताले बताए । प्रतिनिधिसभा सदस्य अमृता अग्रहरीले भनिन्, ‘म कोरोना पोजेटिभ भएर १७–१८ दिनदेखि घरमै छु, कतै बाहिर गएको छैन, एक दिन उपेन्द्र यादवले फोन गरेर भेट्न खोज्नु भएको थियो । मैले अहिले अस्वस्थ छु, स्वस्थ छु त्यसपछि भेटौँला भनेकी थिएँ ।’ आफू कसैको पक्षमा नरहेको बताउँदै उनले जहाँ न्याय हुन्छ, सत्य हुन्छ त्यही आफ्नो उपस्थिति रहने बताइन् । उनले पार्टीमा अहिले देखिएको विवादबाट आफू पनि असन्तुष्ट रहेको बताए । पार्टीमा देखिएका असन्तुष्टलाई सन्तुष्ट गर्ने काम पार्टी अध्यक्षको हुन्छ, उनले भनिन्, यदि त्यसो समयमा गरिएन भने दुर्घटना हुनसक्छ । प्रतिनिधिसभाका अर्का सदस्य प्रमोद साहले पार्टीमा भइरहेको बहुमत र अल्पमतको कुरा एकदम गलत भएको बताए । पार्टीमा कुनै विवाद छ वा समस्या छ भने त्यसलाई आन्तरिक रूपमा बसेर समाधान गर्नुपर्छ, उनले भने, कोही बहुमत पुर्‍याउन दौडधूप गरिरहेको छ भने त्यसले कसैलाई हित गर्दैन । उनले पार्टी अहिले पनि एक ढिक्का रहेको र केही समस्या छ भने त्यसलाई मिलेर समाधान गर्न सकिने बताए । यसका लागि शीर्ष नेतृत्व तहबाट पहल गर्नुपर्ने उनको भनाइ छ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार