बेलायतमा दाजु गुरुङको ‘लाई–सी’ सार्वजनिक

  प्रेम कुमार कोरङ्गी

१४ फेब्रुअरी, बेलायत– ‘लाई–सी’ चिनियाँहरुले नयाँ वर्षमा आफू भन्दा सानालाई उन्नति प्रगति, सफलता र शुभकामना सहित रातो खाम भित्र केहि रुपैयाँ राखेर दिईने प्रचलन आज नेपाली समुदायमा खुबै मौलाएको छ । बिबाह, भात खुलाई, जन्म दिवस, न्वारान आदि हरेक कार्यक्रममा यसको बहुत चलन बढेको छ । यो प्रचलनलाई एउटा मुख्य बिषय बस्तु बनाएर कथाकार दाजु गुरुङले आफ्नो दोश्रो कृतिको रूपमा बजारमा ल्याउनु भएको ‘लाई–सी’ ले हङकङको नेपाली साहित्य आकाशमा मात्रै नभई बेलायतको नेपाली समुदायमा पनि निकै चर्चा परि चर्चा बटुल्न थालेको छ । भनिन्छ कला साहित्य र संगितको कुनै सिमा र परिधि हुँदैन सबैले रुचाउँछन् । उहाँको यो कृतिमा हङकङ त एउटा प्रतिनिधि ठाउँ मात्रै हो जसले सबै बिदेसिएका नेपालीहरुको कथाब्यथा बोकेको छ । जसरी एउटा नेपालीले बिदेश आई सके पश्चात रोजिरोटीको निम्ति जुन सँघर्ष गर्नु पर्छ त्यसको बारेमा कथाकार दाजु गुरुङले बिना कन्जुस्याइँ कलम चलाउनु भएको छ । जस्तै सिपको अभाव, भाषाको अज्ञानता र अनुभवको कमी आदिको कारण जुन कठिनाइ र संघर्षको प्रतिबिम्ब देखाउनु भएको छ । जसले बिदेशको जुनसुकै कुनामा रहेका नेपालीहरुको कथा समेटेको छ ।
१८ वटा कथाहरुको संगाालो रहेको यो कृतिलाई संखुवासभा तमु समाज बेलायतले १४ फेब्रुअरी २०२२, सोमबारका दिन बेलायतको फेल्थाम स्थित गोर्खा दरवार रेष्टुरेन्टमा औपचारिक कार्यक्रम गरी सार्वजनिक ग-यो । संस्थाका कार्य बाहक अध्यक्ष श्री बिरेन गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका कोषाध्यक्ष श्री मणि कुमार गुरुङले अतिथि लगायत उपस्थित महानुभावहरुमा श्वागत गर्नु भएको थियो । संखुवासभा समाज बेलायतका सल्लाहकार श्री रमेश गुरुङले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा समाजका सल्लाहकार श्री अमृत घोन्डे गुरुङ र श्री प्रेम गुरुङ अतिथिको रूपमा हुनुहुन्थ्यो ।
समाजका सचिव श्री सल बहादुर कोरङ्गीले संचालन गर्नु भएको उक्त कार्यक्रममा प्रेम कुमार कोरङ्गीले कृति माथि संक्षेपमा चर्चा गर्नु भएको थियो । कार्यक्रमको अन्त्यतिर कथाकार दाजु गुरुङ स्वयम काठमाडौबाट भिडियो कल मार्फत जोडिनु भएर आयोजक संस्था संखुवासभा तमु समाज बेलायत र कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिनु भएको थियो ।
गत वर्ष २०२१ को अक्टुबर १७ मा हङकङमा विमोचन भएको दाजु गुरुङको कथा संग्रह ‘लाई–सी’ विभिन्न पुरस्कार तथा सम्मानहरुद्धारा समेत सम्मानित भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार