आजको बैठकमा एमसीसीमाथि छलफल अघि बढ्ने…..

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि आज बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले एमसीसी सम्झौताबारे छलफल अघि बढाउने कार्यसूचीमा प्रकाशन गरेको हो । आज दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ । यस्तै दोस्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ । यस्तै प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ । यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धन दलभित्रै विवाद रहेकाले यसअघिका बैठक स्थगित भएको थियो । सरकारमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल एमसीसीको विपक्षमा रहेका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस संसदबाट पास गराउने कसरतमा लागेको छ । सत्ता गठबन्धनमा रहेका दल नै सो सम्झौताको विपक्षमा उभिएपछि प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले एमसीसी पास गराउन प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेका छन्। प्रधानमन्त्री देउवा र काँग्रेसका नेताहरुले चरणबद्ध रुपमा एमालेसँग छलफल गरिरहेका छन् । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार