रुससँग शान्ति वार्ताका लागि बेलारुस पुग्यो युक्रेनी…..

काठमाडौँ — रुससँग शान्ति वार्ताका लागि युक्रेनी अधिकारी बेलारुसको सीमा क्षेत्रमा पुगेका छन् । युक्रेनको राजधानी किभस्थित बीबीसी संवाददाता अब्दुजलिल अब्दुरासुलोभका अनुसार रुसको प्रस्तावअनुसार युक्रेनी प्रतिनिधिमण्डल वार्ताका लागि बेलारुसको सीमास्थल पुगेको हो । यसअघि बेलारुसले वार्ताका लागि स्थान तय भएको जानकारी दिएको थियो । वार्ताको मुख्य एजेन्डा युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेना फिर्ता हुनुपर्ने रहेको छ । यसअघि लजिस्टिक र सुरक्षाका कारण रुससँगको वार्ता सारिएको युक्रेनी अधिकारीले जनाएका थिए । आइतबारको सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट समस्या समाधान हुने आफूलाई आश नरहेको बताएका थिए । तर उनले युक्रेनले युद्ध अन्त्यका लागि पहल नगरेको आरोप नलागोस् भनेर शान्ति स्थापनाका लागि पहल भने गरिराख्ने जनाएका थिए । युक्रेनमाथि रुसी आक्रमणको ५औं दिनमा वार्ताको कुरा आएको हो । बेलारुसको विदेश मन्त्रालयले पनि सोमबार सामाजिक सञ्जालमा रुस र युक्रेनको झन्डासहितको टेबलको तस्बिर सार्वजनिक गर्दै लेखेको थियो, ‘रुस र युक्रेनबीचको वार्ताका लागि बेलारुसमा स्थान तयार भएको छ । प्रतिनिधिमण्डल आउनेवाला छन् ।’ बेलारुसको विदेश मन्त्रालयका प्रवक्ता ऐनातोली ग्लेजले भनेका छन्, ‘बैठकस्थलमा प्रतिनिधिमण्डल पुगलगत्तै वार्ता सुरु हुने छ। साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार