युक्रेनको खर्किभ सहरमा रकेट आक्रमण…..

काठमाडौँ — रुसले युक्रेनको दोस्रो सहरमा रकेट आक्रमणलाई निरन्तरता दिँदै ‘प्याराट्रुपर’लाई ओरालेको छ । रुसले युक्रेनमाथि उत्तर, पूर्व र दक्षिणबाट आक्रमण तीव्र पार्दा देशको दोस्रो धेरै जनसंख्या रहेको खर्किभमाथि नियन्त्रणका लागि मंगलबार राति भीषण हवाई आक्रमण गरेको बताइएको छ । सो क्रममा २१ जना सर्वसाधारण मारिएको सो सहरका मेयरले बताएका छन् । रुसले क्षेत्रीय प्रहरी कार्यालय र विश्वविद्यालयमा समेत रकेट प्रहार गरेको बताइएको छ । सो सहरमा भीषणयुद्ध सुरु भएको समाचारहरु आएका छन् । यसैगरी, रुसी सेनाको ६४ किलोमिटर लामो बख्तरबन्दहरुको लस्कर राजधानी किभभन्दा २४ किलोमिटर नजिकै पुगेको बीबीसीले जनाएको छ । मंगलबारमात्रै रुसी सेनाले राजधानीमा रहेको टेलिभिजनको टावरमा हवाइ आक्रमण गर्दा ५ जनाको मृत्यु भएको अधिकारिहरुले बताएका छन् । यसैबीच, रुसको रक्षा मन्त्रालयले सामरिकरुपमा निकै महत्वपूर्ण मानिएको ‘ब्लाक सी’स्थित बन्दरगाह केरसनमाथि नियन्त्रणमा लिएको दाबी गरेका छन् । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई केरसनको अवस्थामा बारेमा युक्रेनी अधिकारीहरुको परस्पर विरोधी भनाइ आएका छ्न् । मेयरले अहिले पनि सो सहर युक्रेनीको नियन्त्रणमा रहेको दाबी गरे पनि अन्य अधिकारीहरुले रुसले पूर्णरुपमा नियन्त्रणमा पुगेको बताएका छन् । यसैबीच अमेरिकामा सांसदको संयुक्त सदनमा सरकारको कार्यक्रम प्रस्तुत गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनलले पश्चिमा देसहरुको प्रतिक्रियालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नजरअन्दाज गरेको बताएका छन् । रुसले एक साताअघि युक्रेनमाथि आक्रमण सुरु गरेपछि अमेरिकाको नेतृत्वमा पश्चिमा देशहरुले आर्थिक नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकाले रुसी विमानहरुमाथि आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । युरोपेली संघ र क्यानाडापछि अमेरिकाले रुसमाथि प्रतिबन्धको तयारी गरेको हो । एजेन्सी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार