चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउने…..

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चैत १२ र १३ गते विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउन लागेको जानकारी नेताहरूलाई गराइसकेकी छिन् । नेपालको परराष्ट्र मन्त्रालयले पनि वाङलाई स्वागत गर्ने तयारी थालेको छ । अमेरिकासँग गरेको एमसीसी सम्झौता अनुमोदन गरेको नेपालले वाङको भ्रमण क्रममा चीनसँग गरेको बेल्ट एण्ड रोड इनिसियटीभ (बीआरआई) बारे चिनियाँ चासोलाई पनि यथोचित सम्बोधन गर्नुपर्नेछ । नेपालको प्रतिनिधिसभाले अमेरिकी अनुदान सहायता लिन एमसीसी सम्झौता फागुन १५ गते व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेको थियो । सम्झौता अनुमोदन गर्नुभन्दा ४ दिन अघि फागुन ११ गते चीनले एमसीसीलाई ‘उपहार या समस्याको पोको ?’ भन्दै प्रश्न गरेको थियो । काठमाडौंलाई केन्द्र बनाएर वासिङ्गटन डीसी र बेइजिङबीच चलेको वाकयुद्ध तरङ्ग साम्य नहुँदै चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपालले बीआरआई सम्झौतामा २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो । नेपालका तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महरा सम्झौतामा हस्ताक्षर गर्न चीन पुगेका थिए । चीनले अनुदान र ऋण सहायतामार्फत नेपाललाई बीआरआई सम्झौताअन्तर्गतका परियोजना विकासमा सघाउने जनाएको थियो । शुरूमा ३५ परियोजना अघि बढाउन प्रस्ताव पठाएपनि चिनियाँ आग्रहमा नेपालले त्यसलाई ९ वटामा झारेको थियो । रसुवागढी–काठमाडौं सडक, किमाथांका–लिने सडक निर्माण, दिपायलबाट चिनियाँ नाकासम्मको सडक, टोखा–बिदुर सुरुङमार्ग, गल्छी–रसुवागढी–केरुङ ४०० केभी ट्रान्समिसन लाइन, केरुङ–काठमाडौं रेलको सम्भावता अध्ययन, तमोर हाइड्रो परियोजना (७६२ मेगावाट), फुकोट कर्णाली हाइड्रो परियोजना (४२६ मेगावाट) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना अघि बढाउने नेपालको प्रस्ताव थियो ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार