रूस–युक्रेनलाई देखाउँदै महँगियो भान्सा, दोब्बर मूल्य बढाउँदै व्यापारी…..

काठमाडौं- नेपाल र युक्रेनबीचको दूरी करिब ४ हजार ९९७ किलोमिटर र रूसबीचको दूरी झण्डै ४ हजार किलोमिटर छ । तर, यी दुई देशबीचको आन्तरिक युद्धलाई कारण देखाउँदै नेपालमा सबैजसो खाद्यान्नको मूल्य छोइनसक्नु बढेको छ । नेपालको स्थानीय बजारमा रूस र युक्रेनको सैन्य भिडन्तसँग सम्बन्ध नै नराख्ने वस्तुहरूको सूचीसमेत अनियन्त्रित गतिमा उकालो लागिरहेको छ । यतिबेला नेपालमा रूस–युक्रेन युद्धको असर देखाउँदै खानेतेल, दाल, चामल र चिनीलगायत सबैजसो वस्तुको मूल्य दिनदिनै उकालो लागिरहेको हो । नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकअनुसार २०७६ साल फागुनयता बढ्न थालेको वस्तुको मूल्यवृद्धि अहिले पनि जारी छ । २०७६ सालमा औषतमा १०० रुपैयाँ प्रतिकिलो पर्ने कुनै खाद्यान्नको मूल्य अहिले दोब्बरसम्मले उकालो गतिमा लागेको हो । २०७६ साल फागुनमा विश्वबजारमा कोरोना महामारीको प्रभाव परिसकेको थिएन । तर, २०७७ साल फागुनसम्म आइपुग्दा विश्वको आपूर्ति प्रणाली नै ध्वस्त पार्नेगरी कोरोना महामारी विश्वव्यापीरूपमा फैलिसकेको थियो । त्यस बीचको एक वर्षमा बढेको मूल्यको तुलनामा करिब–करिब दोब्बरले पछिल्लो एक वर्षमा मूल्य बढिसकेको छ । २०७६ साल माघ महिनामा प्रतिकिलो ७० रुपैयाँ खुद्रा मूल्य रहेको ताइचिन चिउरा अहिले (२०७८ फागुन) मा १३० रुपैयाँ पुगिसकेको छ । यो दोब्बरभन्दा पनि बढी मूल्यवृद्धि हो । यस्तै, ०७६ सालमा प्रतिकिलो ८५ रुपैयाँमा खुद्रा बजारमा कारोबार भएको चिनी अहिले १०० रुपैयाँ पुगिसकेको छ । यसबाहेक, पोखरेली चामल, मासको दाल, मुँगीको दाल, रहरको दाल, जिराको पाउडर लगायत धेरैजसो वस्तुको मूल्य निरन्तर बढिरहेको संघले जानकारी दिएको छ । संघका महासचिव अमुलकाजी तुलाधारले पछिल्लो समय खाद्यान्नको समय निरन्तर बढेको बताए । उनले उद्योगबाट थोक बिक्रेता हुँदै खुद्रा व्यापारीसम्म मूल्य बढेर वस्तु आउने गरेको समेत बताए । ‘उद्योगमै बढेको मूल्य हामीले नबढाउने भन्ने हुँदैन । उद्योगीहरूले सबैजसो वस्तुको मूल्य बढाएर थोक बिक्रेताहुँदै पठाउँछन्,’ उनले भने, ‘उद्योगमा बढेपछि खुद्रा मूल्य नबढ्ने भन्ने हुँदैन ।   साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार