अधिवेशनमा एउटै विधेयक पारित नगरी मंगलबार अन्त्य…..

काठमाडौँ — संघीय संसद्को विधेयक अधिवेशन एउटै विधेयक पारित नगरी मंगलबार अन्त्य भएको छ । प्रतिनिधिसभामा ४२ र राष्ट्रिय सभामा १५ गरी संघीय संसद्मा ५७ विधेयक विचाराधीन छन् । प्रमुख प्रतिपक्ष एमालेले निरन्तर अवरोध गर्दा र सरकार पनि संसद् खुलाउन गम्भीर नबन्दा कुनै पनि विधेयकले कानुनको रूप लिन नसकेको हो । मंसिर २८ मा सुरु भएको संसद्को १० औं अधिवेशन ९२ औं दिनमा अन्त्य गरिएको हो । यस अवधिमा ११ वटा बैठक ७ घण्टा ५० मिनेट बसेको संसद् सचिवालयले जनाएको छ । ‘अधिवेशन अवधिभरका बैठकमा प्रमुख प्रतिपक्ष एमालेको अवरोध कायम रह्यो,’ संसद्ले गरेको कामकारबाहीको संक्षिप्त जानकारीमा भनिएको छ, ‘प्रतिनिधिसभाको चालु अधिवेशनमा कुनै पनि नयाँ विधेयक दर्ता भएको छैन । ४२ वटा विधेयकमध्ये लोक सेवा आयोग विधेयक राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त सन्देश टेबल भएको थियो । सरकारले जारी गरेका ६ अध्यादेश स्वीकार गरेको विवरण पनि संसद्ले चालु अधिवेशनमा गरेको कामको सूचीमा समेटिएको छ । संसद्ले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, रेल्वे अध्यादेश संसद्ले स्वीकृत गरेको थियो । सरकारले प्रतिस्थापन विधेयक ल्याउन नसक्दा ती अध्यादेश निष्क्रिय भइसकेका छन् । संसद्को १० औं अधिवेशनले विवादित एमसीसी सम्झौतालाई व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेको थियो । संसद्को यही अवधिमा सत्ता गठबन्धनले महाभियोग प्रस्ताव पेस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित छन् । एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने वा सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने माग राख्दै नवौं अधिवेशनमा ५ घण्टा ४० मिनेट अवरोध संसद् बैठक अवरोध गरेको थियो ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार