भारत र जापानबीच चीनसँग सम्बन्धित विषयमा वार्ता…..

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच शनिबार चीनसँग सम्बन्धित विषयमा वार्ता भएको छ । समाचार एजेन्सी एएनआईले भारतीय विदेश सचिव हर्ष श्रृंगला​लाई उद्धृत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी प्रधानमन्त्रीलाई लद्दाखको वर्तमान अवस्थाबारे जानकारी गराएको बताएको छ । मोदी र जापानी प्रधानमन्त्रीबीच युक्रेनको पछिल्लो अवस्थाबारे पनि छलफल भएको थियो । दुबैले युक्रेनमा आणविक संयन्त्रको सुरक्षाको महत्त्वलाई जोड दिए । दुवैले युक्रेन र रुसबीचको हिंसा तत्काल बन्द गर्नुपर्ने बताए । युक्रेन समस्या समाधानका लागि वार्ताको विकल्प नरहेको उनीहरुको भनाइ थियो । दुवै प्रधानमन्त्रीले युक्रेनमा जारी द्वन्द्व र मानवीय संकटको बारेमा चिन्ता व्यक्त गर्दै इन्डो-प्यासिफिक क्षेत्रका लागि यसको प्रभावबारे मूल्याङ्कन गरेका थिए। जापानी प्रधानमन्त्री किशिदा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित शनिबार दिउँसो भारत पुगेका छन् । प्रधानमन्त्री बनेपछि उनी पहिलो पटक भारत आएका हुन् । किशिदाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुका साथै १४औँ भारत–जापान शिखर सम्मेलनमा पनि भाग लिनेछन् । यसअघि सन् २०१८ मा टोकियोमा भारत र जापानबीच शिखर वार्ता भएको थियो । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार