घेराबन्दी गर्न खोजे चीन पछि नहट्ने सन्देश दिन विदेशमन्त्री वाङको नेपाल भ्रमण…..

काठमाडौँ — चीनका लागि पूर्वनेपाली राजदूत महेश मास्केले चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमण पश्चिमा देश र भारतले जतिसुकै घेराबन्दी गर्न खोजे पनि चीन पछि नहट्ने सन्देश दिन भएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा बोल्दै पूर्वराजदूत मास्केले जस्तोसुकै घेराबन्दीको प्रयास भए पनि चीन पछि हट्ने अवस्थामा नभएको बताए । ‘इन्डो प्यासिफिक, क्वाड वा भारतसँग प्रतिरक्षा सम्झौता वा जी-सेभेनले चीनलाई सिधै घेराबन्दी गर्ने कुरा भए पनि चीन पछि हट्नेवाला छैन,’ मास्केले भने, ‘वाङ यी यता (नेपाल) आउन खोजेको पनि हामी पछि हट्नेवाला छैनौं भन्ने सन्देश दिन हो भन्ने लाग्छ ।’ चिनियाँ विदेशमन्त्री वाङ आगामी साता २ दिने नेपाल भ्रमणमा आउँदैछन् । कार्यक्रममा पूर्वराजदूत मास्केले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणकै बेला आफ्नो स्वार्थमा आँच पुग्ने गतिविधिलाई निस्तेज पार्ने संकेत गरेको बताए । ‘ट्रान्स हिमालय मल्टिडाइमेसनल कनेक्टिभिटी नेटवर्क पास हुने अवस्थामा थियो । नेपाल तिब्बतबीच सम्पर्क बढ्ने थियो,’ राजदूत मास्केले भने, ‘चिनियाँ राष्ट्रपति सीले चिनियाँ इन्ट्रेस्टलाई आँच पुग्ने काम हुन्छ भने हड्डी चुरचुर हुन्छ भन्नुभएको थियो । राष्ट्रपतिले त्यस्तो कुरा हत्तपत्ति बोल्दैनन् र चीनको राष्ट्रपतिले त्यो कुरा बोल्नुभयो । त्यसरी बोलेको कुरामा केही छ भनेर बुझ्नुपर्छ । उनले संवेदनशील क्षेत्रको रुपमा रहेको तिब्बतमा गतिविधि गरेर चीनलाई अप्ठ्यारो पार्ने कोसिस हुने बताए । ‘जसरी युक्रेन, युरोप र नेटोहरुका लागि रुसलाई अफ्ठ्यारोमा पार्ने संवेदनशील हो,’ उनले भने, ‘चीनलाई अफ्ठ्यारो पर्ने चार वटा ठाउँहरु सिन्जियाङ, तिब्बत, हङकङ र ताइवान छ । यस्तो ठाउँमा उनीहरुको बढी फोर्सेसहरु अफ्ठ्यारो पार्नका लागि केन्द्रित गर्छन् । राजदूत मास्केले अहिलेका महाशक्तिहरुलाई प्रत्यक्ष युद्ध नभई एकले अर्कोविरुद्ध छद्म युद्ध गर्ने भन्दै त्यसबाट बच्न सक्नु पर्ने बताए । ‘अहिले महाशक्ति देशहरु प्रत्यक्ष युद्धको अवस्थामा जानेवाला छैनन् । सक्दैनन् पनि । उनीहरुले गर्ने प्रोक्सी वार गर्छन्,’ मास्केकले भने, ‘तिब्बतको विषयमा जिस्क्याइरहने उनीहरुको नीति हुन्छ । चीनको साथ लिएर नेपालले भारतलाई पनि नजिस्क्याओस् भन्ने चाहना बेइजिङ रहेको मास्केले बताए । ‘मैले चीनलाई जति बुझे छु । त्यस आधारमा भन्दा चीन आफै बुई चढेर नेपालले भारतलाई जिस्क्याओस् भन्ने चाहँदैन,’ राजदूत मास्केले भने । तर नेपालका नेताहरु बेला बेलामा भारतविरुद्ध चर्को अभिव्यक्ति दिँदा चीनले आफूलाई सहयोग गर्ने बुझाइमा रहेको मास्केले बताए । ‘चीनको सहयोग पाउँछु कि जस्तो उनीहरुलाई लाग्छ तर पाउँदैनन् । कार्यक्रममा कुनै पनि शक्तिको आडमा बसेर अर्कोविरुद्ध लाग्दा युक्रेनको जस्तो अवस्थामा हुनेमा सचेत हुनुपर्ने उनले बताएका थिए ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार