चिनियांँ परराष्ट्रमन्त्री वाङ शुक्रबार नेपाल आउँदै…..

काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै वाङ चैत ११ देखि १३ सम्म काठमाडौं आउन लागेको सार्वजनिक गरेको हो । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङबीच गत कात्तिक २ मा फोन वार्ता हुँदा खड्काले वाङलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । सोही निम्तोलाई आधार मानेर वाङ शुक्रबार नेपाल उत्रन लागेका हुन् । भ्रमणका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । दोस्रो दिन शनिबार परराष्ट्रमन्त्री नारायण खड्का र वाङको नेतृत्वमा रहेको टोलीले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । वाङले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गर्नेछन् । संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन भएको महिना दिनभित्रै उत्तरी छिमेकी चीनका परराष्ट्रमन्त्री वाङ काठमाडौं आउन लागेका हुन् । नेपालमा अमेरिकी सहयोगमाथि चर्चा भइरहँदा बेइजिङले पटक–पटक टिप्पणी गरे पनि नेपालले त्यसलाई अघि बढाएपछिको समयमा हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका एजेन्डा भने अझै तय भइसकेका छैनन् । परराष्ट्र मन्त्रालयले अन्य मन्त्रालयसँग मिलेर एजेन्डाबारे गृहकार्य गरिरहेको छ । साथै, नेपालस्थित चिनियाँ दूतावाससँग समेत समन्वय गरेर द्विपक्षीय वार्ताको तयारी भइरहेको छ । परराष्ट्रमन्त्री वाङको नेपाल भ्रमणको पूर्वतयारीलाई मध्यनजर गरेर चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्री खड्का, सभामुख अग्नि सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री बालकृण खाँणलगायतसँग भेटवार्ता गरिसकेकी छन् । नेपाललाई लामो समयदेखि नजिकबाट चिनेका परराष्ट्रमन्त्री वाङ चिनियाँ राष्ट्रपति सी चिनपिङका प्रिय पात्र मानिन्छन् । वाङले अहिलेको भूराजनीति चलायमान भइरहेको अवस्थामा बेइजिङबाट कुनै न कुनै सन्देश लिएर आउने एक सरकारी अधिकारीले बताए । २०७६ असोज २५ र २६ मा २३ वर्षपछि चीनका राष्ट्रपतिका रूपमा सीले नेपालको दुईदिने राजकीय भ्रमण गरेका थिए । त्यस बेला परराष्ट्रमन्त्री वाङ भ्रमण दलका मुख्य सदस्य थिए । परराष्ट्रमन्त्री वाङले सन् २०१५ जुनमा पनि नेपाल भ्रमण गरेका थिए । यसअघि चीनबाट २०७७ मंसिर १४ मा चिनियाँ रक्षामन्त्री वेई फङ्गेले पनि नेपालको भ्रमण गरेका थिए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार