देउवा, दाहाल र नेपालबीच चुनावी तालमेलबारे छलफल…..

काठमाडौँ — सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताबीच छलफल भएको हो । दाहाल र नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे छिटो टुंगो गर्नुपर्ने बताएको तर प्रधानमन्त्री देउवाले भने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट के गर्ने भन्नेबारे निर्णय गराउने बताएका थिए । बालुवाटारमा भएको छलफलबारे एक नेताले भने, ‘स्थानीय तह निर्वाचनका लागि संयन्त्र बनाउने विषयमा छलफल भएको छ । स्थानीय तहसम्म तालमेलका लागि संयन्त्र बनाउनेबारे छलफल भएको हो । कांग्रेसले कार्यसमितिबाट यसबारेमा निर्णय लिने भनेपछि थप कुराकानी अगाडि बढेन ।’ स्थानीय तहको निर्वाचनको आचारसंहिता समय लागू नहुँदै विभिन्न सरकारी नियुक्ति र राजदूत नियुक्तिका विषयमा पनि शीर्ष नेताबीच छलफल भएको पनि ती नेताले बताए । माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग स्थानीय तह निर्वाचनमा गठबन्धन बनाउनेबारे कांग्रेसभित्र दुई धार छ । प्रधानमन्त्री तथा सभापति देउवा पक्ष गठबन्धनका पक्षमा लचिलो छ भने नेता शेखर कोइराला पक्षले गठबन्धन गर्न नहुने अभिव्यक्ति दिँदै आएका छन् । कांग्रेसले चैत ११ गते कार्यसमितिको बैठक बोलाएको छ । उक्त बैठकबाट स्थानीय तहको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय लिने बताइएको छ । सभापति देउवाले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनका दलहरूबबीच तालमेलको गृहकार्य गरिरहेका छन् भने बाँकीमा आवश्यकताका आधारमा मात्रै तालमेल गर्न तल्ला कमिटीलाई नै जिम्मेवारी दिने तयारीमा छन् । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिएको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार