नेपालले पपुवा न्यु गिनीलाई ७ विकेटले हरायो…..

काठमाडौँ — आईसीसी क्रिकेट विश्वकप लिग-२ क्रिकेटमा नेपालले पपुवा न्यु गिनीलाई ७ विकेटले हराएको छ । पपुवा न्यु गिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ५९ रन बनाए । १०२ बल सामना गरेका उनले ४ चौकाको सहयोगमा उक्त योगफल पूरा गरेका हुन् । त्यस्तै ओपनर कुशल भुर्तेल अर्धशतक बनाएर आउट भए । ६४ बल सामना गरेका उनले १ छक्का र ४ चौका प्रहार गरे । त्यस्तै रोहित पौडेलले नटआउट रहँदै ४४ रन बनाए । ४८ बल सामना गरेका उनले ५ चौका प्रहार गरे । आसिफ शेख २ रन दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भएका थिए । पपुवा न्यु गिनीका लागि चार्ल्स अमिनीले २ र काबुआ मोरियाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुवा न्यु गिनीले नेपाललाई १७४ रनको लक्ष्य दिएको थियो । पपुवा न्यु गिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको हो । पपुवा न्यु गिनीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ बनाए । त्यस्तै चाड सोपरले नटआउट रहँदै २२ रन बनाए । त्यस्तै लिगा सियाका २०, सेसे बाउ १९ र चार्ल्स अमिनी १३ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी र कप्तान सन्दीप लामिछानेले २/२ तथा आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले १/१ विकेट लिए । नेपालका तर्फबाट आरिफ र सन्दीपले किफायती बलिङ गरे । आरिफले १० ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए भने सन्दीपले पनि १० ओभर बलिङ गर्दै २९ रन खर्चिए । यूएई भ्रमणमा नेपाल र पपुवा न्यु गिनी दुवैको यो अन्तिम खेल हो । नेपालले आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । तर फितलो ब्याटिङ गरेको नेपालले यूएईसँगको दुवै खेलमा पराजय भोगेको थियो ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार