सवारी दुर्घटना प्रकरणको फैसलामा पीडित परिवार असन्तुष्ट…..

काठमाडौं-   दुई वर्षअघि राजधानीको बूढानीलकण्ठमा भएको सवारी दुर्घटना प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको फैसलाप्रति पीडित परिवार असन्तुष्ट बनेका छन् । उनीहरुले क्षतिपूर्तिकै कारण न्यायमा मोलाहिजा गरिएको भए क्षतिपूर्ति फिर्ता गर्न तयार रहेको पनि बताएका छन् । चैत ७ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीले प्रतिवादी पृथ्वी मल्ललाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाए । जबकी उनी ७ महिना पुर्पक्षका लागि थुनामा बसिसकेका थिए । अत्याधिक मदिरा सेवन गरी लापरवाहीपूर्वक सवारीसाधन चलाएर सडकपेटीमा हिँडिरहेकी लिला देवकोटाको ज्यान लिएको भन्दै मल्लमाथि सवारी ज्यानको मुद्दा चलाइएको थियो । २०७६ मंसिर २८ गते बिहान बूढानीलकण्ठमा प्रतिवादी पृथ्वी मल्लले चलाएको कारको ठक्करबाट सडकपेटीमा हिँडिरहेकी ४० वर्षीय लिला देवकोटाको मृत्यु भएको थियो । सो लगत्तै प्रहरीले मल्ललाई पक्राउ गरी अनुसन्धान गर्दै सरकारी वकिलमार्फत् काठमाडौं जिल्ला अदालतमा २०७६ साल पुष २१ गते सवारी ज्यान मुद्दा दर्ता गराएको थियो ।

मृतक परिवारका सदस्य यादव देवकोटाको भनाइ जस्ताको त्यस्तैः

काठमाडौं जिल्ला अदालतका न्यायाधीशले के कति आधारमा उक्त फैसला गरेका हुन् । त्यसबारे हामी खोजबिन गर्छौ नै । फैसलाको पूर्ण पाठ आइसकेको छैन, तर प्रारम्भिक जुन सूचना आएको छ, ६ महिना कैद र १० हजार जरिवाना भन्ने त्यो कुखुरा चोरलाई गर्ने जस्तो फैसला भयो । मदिरा खाएर लापरवाहीपूर्वक सवारी चलाएर सडकपेटीमा हिँडिरहेकी महिलाको हत्या गरेको घटनाको सजाय ६ महिना कैद र १० हजार जरिवाना हुन्छ ? उसँग चारपाङ्ग्रेको अन्तर्राष्ट्रिय लाइसेन्स भएको दाबी गरिएको छ, तर जतिबेला प्रहरीले पक्राउ गरेको थियो, त्यतिबेला उसको शरीरबाट उक्त लाइसेन्स बरामद भएको छैन । पछि मात्रै त्यो ल्याइएको भन्ने छ र उक्त लाइसेन्स सक्कली हो कि नक्कली भन्ने पनि सनाखत गराइएको छैन । अमेरिकी दूतावासमार्फत् त्यो प्रमाणित गर्न सकिन्थ्यो, तर प्रमाणित गरिएको छैन, प्रतिवादीको तर्फबाट पेस भएको कागजातलाई नै अदालतले मानेको छ ।   साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार