चीनसँग दर्जन सम्झौता गर्न नेपाल सरकारको गृहकार्य…..

काठमाडौँ — सरकारले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा करिब एक दर्जन विषयमा समझदारी गर्न गृहकार्य गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ मा चीनको भ्रमण गरेदेखि हालसम्म दुई मुलुकबीच ५० भन्दा बढी विषयमा सहकार्य गर्ने सम्झौता गरिएकामा अधिकांश कार्यान्वयन भएका छैनन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच शनिबार औपचारिक रूपमा द्विपक्षीय वार्ता भएपछि १० देखि १२ वटा विषयमा दुई मुलुकबीच सहमति गर्ने तयारी छ । चीनले पनि ‘बीआरआई कार्यान्वयन सम्झौता’ अघि बढाउन परराष्ट्रमार्फत नेपाल सरकारलाई आग्रह गरेको छ । चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई कार्यान्वयन सम्झौता नगरे बीआरआई अघि बढाउन गाह्रो हुने सन्देश दिइसकेको छ । यस विषयमा गृहकार्य गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको उच्च नेतृत्व तहबाट स्वीकृत भए वाङको भ्रमणमा नेपाल र चीनबीच बीआरआई कार्यान्वयन सम्झौता हुनेछ । नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि हालसम्म वस्तुगत प्रगति भएको छैन । नेपालले बीआरआईबाट ऋण होइन, अनुदान लिन चाहेको छ । अनुदान दिन मिल्ने वा नमिल्ने भन्नेबारे चीनसँग छलफल भइरहेको एक सरकारी अधिकारीले बताए । नेपालले सुरुआतमा बीआरआईबाट फाइदा लिनका लागि ३५ वटा परियोजना अघि सारेको थियो तर चीनले त्यसलाई एक अंकमा घटाउन भनेपछि नेपालले नौवटा बनाएर पठाएको बताइएको थियो । आधिकारिक रूपमा भने नेपालले बीआरआईका लागि भनेर कुनै पनि परियोजनाबारे निर्णय गरेको छैन । वाङको भ्रमणमा नेपाल र चीनबीच हुने छलफलमा नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन, रसुवागढी र तातोपानीबाहेक अन्य एक नाका (कोरला) को औपचारिक सुरुवात गर्नेलगायत विषयलाई अघि बढाउन परराष्ट्रले गृहकार्य गरेको स्रोतले बतायो । परराष्ट्र स्रोतका अनुसार वाङले नेपालको स्वास्थ्य क्षेत्रमा केही सहयोग गर्ने खालको परियोजनामा पनि सहकार्य गर्न सक्नेछन् । चीनका लागि पूर्वराजदूतहरूले पनि नयाँ सम्झौताभन्दा पुरानैलाई कार्यान्वयन तहमा लैजाने गरी अघि बढाउन सुझाव दिएका छन् । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा पूर्वराजदूतहरू लीलामणि पौडेल, टंक कार्की, राजेश्वर आचार्य र महेश मास्केले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ लाई अघि बढाउन आग्रह गरेका हुन् । विदेशमन्त्री वाङले नेपाल आउनुअघि पाकिस्तान र भारतको पनि भ्रमण गर्नेछन् । तीनदिने औपचारिक भ्रमणका लागि उनी शुक्रबार बेलुकी नेपाल उत्रनेछन् । काठमाडौंस्थित चिनियाँ दूतावासका कर्मचारीसँग छलफल गरेपछि वाङले शनिबार परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन् । वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्दै छन् । संघीय संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन भएको एक महिनाभित्रै वाङले काठमाडौं आएर नेपाल र चीनबीच सहकार्यका लागि बाटो खुला गर्न लागेका हुन् । नेपालमा अमेरिकी सहयोगमाथि चर्चा भइरहँदा बेइजिङले पटक–पटक टिप्पणी गरेको थियो । दुई मुलुकबीच सीमा समस्या, नाकाहरूमा सामग्री आयात र निर्यातमा देखापरेका अप्ठ्यारा, कोभिड–१९ पछि नेपाल आएका विद्यार्थीको पठनपाठन निरन्तरतामा समस्या, आपसी अविश्वासलगायत विषय बाहिर आइरहेको पृष्ठभूमिमा हुन लागेको वाङको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार