कुर्थादेखि जयनगरसम्म नियमित रुपमा रेल सेवा सुरु…..

धनुषा-  धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गरेपछि सो रेल सेवा नियमित रुपमा सुरु भएको हो । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखको लागतमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन भएको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको बताइएको छ । उद्घाटनको बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिएका थिए । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाका अनुसार प्रधानमन्त्रीद्वयले झण्डा हल्लाएपछि जयनगरबाट जनकपुरका लागि रेल गुडेको थियो । केही घण्टापछि रेल जनकपुर आइपुगेको थियो । आज उद्घाटनको अवसरमा यात्रुले निःशुल्क रेल चढ्न पाएका छन् भने उद्घाटन पश्चात् जनकपुरधामको कुर्थास्टेशनदेखि भारत विहारको जयनगरसम्म नेपाल रेलले यात्रुलाई सेवा प्रदान गर्नेछ । शनिवारदेखि सुरु भएको कुर्था–जयनगरसम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि सामान्य सिटका लागि रु ९० र वातावरण अनुकूलित (एसि) सिट सुविधातर्फ रु ४५० टिकट कायम गरिएको छ । जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट रु ७० र एसीमा ३७० कायम गरिएको छ । लामो समय पश्चात् रेल्वे चलेपछि स्थानीयवासीमा छुट्टै किसिमको खुसीयाली छाएको छ । रेल हेर्न जनकपुर रेल्वे स्टेशनमा भीड देखिएको थियो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि सरकारले दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) ल्याइएको थियो । एउटा रेलमा एक हजार ३५० यात्रु यात्रा गर्न सक्ने महाप्रबन्धक झाले जानकारी दिए । यात्रुले आफ्नो साथमा साना झोला लैजान पाउनेछन् । तत्काल सञ्चालनमा आएको यात्रुबाहक रेल गाडी हो । नेपालमा राणाकालमै वि.सं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । वि.सं २०७० देखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन । रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो । जयनगर–कुर्था–बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत रु पाँच अर्ब भारु रहेको छ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार