पम्पहरूमा पठाउन थालियो इन्धन, भोलिबाटै सहज हुने…..

काठमाडौँ — ट्याङ्कर चालकहरुसँग सहमति भएसँगै पम्पहरुलाई थानकोट डिपोबाट पेट्रोलियम पदार्थ पठाउन थालिएको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न माग राख्दै डिपोबाट इन्धन ‘लोड’ नगरेपछि राजधानीका निजी पम्पहरुले आइतबार दिनभर तेल बिक्री गर्न पाएनन् । खुलेका सरकारी पम्पहरुमा भने दिनभर सवारीसाधनको लामो लाइन लाग्यो । पेट्रोलियम पदार्थको प्राविधिक चुहावट/नाेक्सानी हुँदा चर्को जरिवाना तिर्नुपरेको, समयमै कमिसन नपाउने गरेको लगायत माग राख्दै चालकहरुले ढुवानी बन्द गरेका थिए । जसले गर्दा डिपोबाट पम्पसम्म तेल ढुवानी हुन सकेको थिएन । आइतबार अपह्रान्हपख ढुवानी व्यवसायी, ट्यांकर चालक र आयल निगमका प्रतिनिधिबीच भएको वार्ता सहमतिमा टुंगिएपछि चालकहरुले इन्धन ढुवानी गर्न थालेको थानकोट डिपोका प्रमुख शैलेन्द्र भुसालले जानकारी दिए । साँझ साढे ७ बजेसम्म १५ सय किलोलिटर पेट्रोलियम पदार्थ पम्पहरुमा पठाइने उनले बताए । ‘३ दिनसम्मको माग एकै दिन बजार पठाउन लागेका छौं, त्यसकारण भोलिबाटै इन्धन सहज हुन्छ, आत्तिएर काेही पनि लाइनमा बस्नु पर्दैन’ उनले भने । व्यवसायीले माग गरेजति नै तेल पठाइएको उनले जानकारी दिए । ढुवानीको क्रममा हुने तेलको प्राविधिक नोक्सानीबारे चालक संघले निगमलाई आधिकारिक पत्र पठाउने र निगमले सम्बोधन गर्ने, त्यस्तै तलब लगायत सेवा सुविधा नदिएका ढुवानी व्यवसायीहरुबाट महासंघले नै पहल गरेर चालकहरुलाई उपलब्ध गराउने सहमति वार्तामा भएको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार