पत्र बुझ्न बतास समूहले अस्वीकार, अस्वीकार पछि सार्वजनिक सूचना…..

काठमाडौं- तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको थियो । बतास समूहले पत्र बुझ्न अस्वीकार गरेपछि कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना नै निकालेको छ । परिषद्ले श्री होटल आनन्द प्रा.लि. सो प्रा.लि.का सञ्चालक आनन्द बतास तथा सो प्रा.लि. का प्रतिनिधि ओस्कर बतासका नाउँको सार्वजनिक सूचना जारी गरेको हो । पशुपति क्षेत्र विकास कोष र होटल आनन्द प्रा.लि. का बीचमा नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडामा सञ्चालन गर्ने बारेमा सम्झौता भएकोमा भाडामा लिने पक्ष आनन्द होटल प्रा.लि.ले सम्झौतामा लेखिएको विभिन्न सर्तहरू पालना नगरेको सूचनामा उल्लेख छ । यस सम्बन्धमा पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्को मिति माघ २८ मा बसेको बैठकले आनन्द होटल प्रा.लि. बाट ३५ दिनभित्र स्पष्टीकरण सहितको जवाफ पेस गर्न मौका प्रदान गर्न फागुन १ मा पत्राचार गरेकोमा सोको म्यादैभित्र प्रालिले कोषसमक्ष कुनै जवाफ नदिएको बताइएको छ । यसरी कुनै जवाफ प्राप्त नभएपछि पुनः कोष सञ्चालक परिषद्को चैत १४ गते बसेको बैठकले होटल आनन्द प्रा.लि. र कोषका बीचमा भएको सम्झौता चैत १७ गतेबाट रद्द गर्ने निर्णय गरेको थियो । सूचनामा भनिएको छ, ‘कोषको च.नं. १४१४, चैत १७ गतेको पत्रबाट जानकारी गराएकोमा निजले करार भङ्ग बारेको पत्र बुझी नलिएको, सो पत्र निजको आधिकारिक ई-मेल ठेगानामा पठाई सकिएकोमा पुनः सार्वजनिक जानकारी समेतका लागि उल्लेखित मितिको पत्रको व्यहोरा देहाय बमोजिम प्रकाशित गरिएको छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार