राज्य ढुकुटीबाट हेलिकोप्टर चढेर चुनाव प्रचारमा मन्त्री र नेता…..

काठमाडौँ — स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बाक्लिएका राजनीतिक प्रशिक्षण, भेला र प्रचारमा सरकारी स्रोतसाधनको दुरुपयोग बढेको छ । उद्घाटन तथा अनुगमनका नाममा प्रधानमन्त्री तथा मन्त्रीहरू हेलिकोप्टर चढेर जिल्ला–जिल्लामा आयोजित दलका कार्यक्रममा पुग्ने गरेका छन् । मन्त्रीका नाममा सरकारी ढुकुटी खर्च गरेर उडाइने हेलिकोप्टरमा दलका नेता–कार्यकर्ताको कोचाकोच हुन्छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न चैत १२ मा हेलिकोप्टर चढेर पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल । दाहालसहितको टोली काठमाडौंबाट बारपाक पुग्दा लागेको हेलिकोप्टर भाडा १ लाख ९० हजार गाउँपालिकाले बेहोरेको थियो।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चैत १ देखि १६ सम्म राष्ट्रपति विद्यादेवी भण्डारीदेखि मन्त्रीसम्मका नाममा १८ पटक हेलिकोप्टर उडान गरिएको छ । एक मन्त्री जिल्ला भ्रमणमा निक्लँदा पाँचदेखि १५ जनासम्म सँगै हुने गरेका छन् । धेरैजना अटाउन नेताहरूले सेनाको एमआई १७ हेलिकोप्टरलाई प्राथमिकतामा राख्ने गरेका छन्, जसको भाडा प्रतिघण्टा आठ लाख रुपैयाँभन्दा बढी पर्छ । विमानस्थल स्रोतका अनुसार पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री हेलिकोप्टरबाट जिल्ला पुगेका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टरमा उडिरहन्छन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले त रोल्पा र गोरखाका स्थानीय तहको बजेट हेलिकोप्टरमा खर्च गराएका छन् । माओवादी अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठ चैत १२ मा माउन्टेन एयरको हेलिकोप्टरबाट गोरखाको बारपाक–सुलिकोट पुगे । प्रशासकीय भवन उद्घाटन गर्न काठमाडौंबाट बारपाक पुग्दा लागेको हेलिकोप्टर भाडा एक लाख ९० हजार रुपैयाँ गाउँपालिकाले नै बेहोरेको छ । ‘गाउँपालिकाकै कार्यक्रममा सहभागी भएकाले हामीले हेलिकोप्टर व्यवस्थापन गरेका हौं,’ अध्यक्ष विष्णु भट्टले भने । दुई दिनपछि चैत १४ मा दाहाल हेलिकोप्टरबाटै रोल्पाको लिबाङ पुगे । उनले भ्यु टावर उद्घाटन गर्दै चुनावी सभालाई पनि सम्बोधन गरे । हेलिकोप्टर यात्रामा लागेको करिब ४ लाख खर्च रोल्पा नगरपालिकाले बेहोर्ने सहमति भए पनि भुक्तानी भएको छैन । ‘कार्यपालिकाको बैठक बसेर यसबारे निर्णय गर्ने कुरा छ । अहिलेसम्म टुंगो लागेको छैन,’ नगरपालिकाका सूचना अधिकारी सुशील थापाले भने । तनहुँ महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सेनाको एमआई १७ हेलिकोप्टरबाट चैत १० मा दमौली पुगेका थिए । तनहुँमा प्रधानमन्त्री देउवाले कांग्रेस र मन्त्री श्रेष्ठले एकीकृत समाजवादीको कार्यक्रममा पनि भाग लिएका थिए । गृहमन्त्री खाँणले पछिल्लो दुई सातामा तीन पटक सेनाको हेलिकोप्टर चार्टर्ड गरेर एक दर्जनभन्दा बढी कार्यक्रम भ्याएका छन् । कुनै न कुनै सरकारी आवरणको कार्यक्रम जोडेर जिल्ला जाने भएकाले उनको भ्रमण खर्च गृह मन्त्रालयको बजेटबाट व्यवस्थापन हुँदै आएको छ । दिनमा दर्जन उडान हुने गृहजिल्ला रूपन्देही (भैरहवा) वरिपरि जान पनि उनले सेनाको हेलिकोप्टर प्रयोग गर्दै आएका छन् । चैत ५ मा एमआई १७ हेलिकोप्टर चढेर गएका गृहमन्त्री खाँणले रूपन्देहीको शुद्धोधनस्थित भुजौलीमा स्वास्थ्य शिविर उद्घाटन गरेका थिए । उनले त्यही दिन तामनगर–फर्साटिकर सडकमा दानव नदीको पुल पनि उद्घाटन गरेका थिए । यही हेलिकोप्टर लिएर उनी पाल्पाको रामपुरमा आयोजित कांग्रेस कार्यकर्ता भेला तथा प्रशिक्षणमा सहभागी भएका थिए । त्यसो त पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली बुधबार हवाईमार्गबाट नेपालगन्ज पुगे । बिहीबार बिहानै सिम्रिक एयरको हेलिकोप्टर चार्टर्ड गरी दैलेखको दुल्लु पुगे । उनले केही पुरातात्त्विक सम्पदाको भ्रमण गर्नुका साथै कार्यकर्तासँग भेटघाट गरे । त्यसलगत्तै दुल्लुबाट जुम्लाको सिँजास्थित नराकोटमा हेलिकोप्टरबाटै पुगेर ओलीले त्यहाँ आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गरे । सिँजाबाट कालीकोट पुगी कार्यक्रमलाई सम्बोधन गरेर ओली नेपालगन्ज झरे । उनको खर्च भने पार्टीले गरेको बताइएको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार