उपसभामुखको गाडी दुरुपयोग, सुरक्षाकर्मी मुकदर्शक…..

काठमाडौँ — सप्तरीको तिलाठी भन्सारस्थित बुधबार दिउँसो विशिष्ट व्यक्ति चढ्ने रातो र निलो रंगको प्लेटमा सेतोले नम्बर लेखिएको एउटा गाडी राजविराज भन्सार कार्यालय अगाडि २ घण्टासम्म रोकियो । झण्डा छोपिएको उक्त गाडी धेरै बेरसम्म रोकिएको देखेपछि भन्सार कार्यालय अगाडिबाट भारतीय बजार जाने आउनेहरुले भन्सारमा कुनै मन्त्री आएको अड्कल गरे । भीआईपी चढ्ने नम्बर प्लेटको गाडी भन्सार कार्यालय अगाडि रोकिएको देखेपछि सिमानामा रहेका सुरक्षाकर्मीहरुले पनि उक्त गाडीबारे सोधखोज गर्न थाले । तर पत्ता लगाउन मुस्किल नै भयो । गाडी रोकिएको स्थानबाट २ मिनेट पैदलमै पुगिन्छ भारतको कुनौली बजार । जहाँबाट उक्त गाडी आएको थियो । साँझतिर तीन जना मानिसले झोलामा सामान लिएर उक्त गाडीमा राखेका थिए । तर सुरक्षाकर्मीले पनि जाँच गर्ने हिम्मत गरेनन् । ती तीन जना मानिसमध्ये एक थिए मधेस प्रदेश सभाकी उपसभामुख उपमा देवका पति रोशन देव । अर्का थिए सवारी चालक र अर्का एक जनाले पालैपालो गाडीभित्र सामान राखेका थिए । संचारकर्मीहरुले फोटो खिच्न थालेपछि भने उपसभामुखका पति रोशन देव गाडी नजिक नै गएनन् । राजविराज भन्सार कार्यालयले अहिले कुनौली नाका भएर भारतीय बजारबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याए अनिवार्य भन्सार कटाउनुपर्ने प्रावधान लागू गरेको छ । तर उपसभामुख चढ्ने गाडी लिएर गएकाहरु भरतीय बजारबाट सामान किनेर ल्याउँदा न त उनलाई कसैले जाँच गरे न कुनै भन्सार कटाउन नै भनियो । यही समयमा अरु थुप्रै सर्वसाधारणहरुलाई भने सुरक्षाकर्मी र भन्सार कर्मचारीहरुले भन्सार कटाउन रोकिरहेका थिए । मधेस प्रदेश ०२–००१ झ ०१०१ नम्बरको उक्त गाडी उपसभामुख उमपा देव आफैंले प्रयोग गर्ने गरेकी छन् । केही दिनयता गृहजिल्ला सप्तरीमा रहेकी उपमाको गाडी पति रोशन देवले झण्डा छोपेर भारतीय बजारमा किनबेच गर्न लगेका थिए । ‘एक जनाको ब्रतबन्धमा तिलाठीसम्म आएको थिएँ । नजिकै भारतीय बजार कुनौली परेकाले घरायासी सामान किन्न गएको थिएँ’ । तर सुरक्षाकर्मीहरुले अन्य सर्वसाधारणको झोला जाँच गर्दै भन्सार कटाउन अह्राइरहेको देख्दा एक सर्वसाधारणले भने, ‘भीआईपी गाडीमा चढेर आउनेको जाँच नै नहुने । अनि हामी सर्वसाधारणले सय रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार कटाउनुपर्ने ?’ त्यसो त प्रहरीले पनि यसबारे कुनै कदम चाल्न सकेको छैन । भीआईपीको आडमा यसरी नाकाबाट कानुन मिचेर खुलेआम गाडी ल्याउँदा स्थानीयहरू मात्रै नभएर सुरक्षाकर्मी पनि मुकदर्शक बनिरहे । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार