नातागोताकै हालीमुहाली, सबै दल एउटै ड्याङका मुला…..

काठमाडौं – नेपाली राजनीतिमा नातागोताको हालीमुहाली नयाँ कुरा होइन । सत्तामा रहनेले नातावाद, कृपावादलाई प्रश्रय दिन्छ भने सत्ता बाहिर रहनेले विरोध गर्दछ । तर एउटा चरणमा नातावाद–कृपावादको विरोध गर्नेहरुले पनि आफू सत्तामा पुगेपछि नातागोता छानेर अवसर दिने परिपाटीसमेत नेपाली राजनीतिमा विद्यमान छ । व्यक्तिवाद, परिवारवाद र नाता–कृपावाद विरुद्ध लडेका पार्टी पनि उस्तै हुन थालेपछि इमानदार नेता–कार्यकर्ता चिढिन थालेका छन् । लामो समयदेखि शासन सत्ताको अनुभव सँगाल्दै आएका काँग्रेस, एमालेमात्र नभइ दोस्रो जनआन्दोलन यता शासन सत्ताको अनुभव बटुलेको नेकपा माओवादी केन्द्रले पनि नातावाद पछ्याउन थालेपछि सबैजसो दल ‘एउटै ड्याङका मुला’ जस्तै देखिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नातागोतादेखि विचौलियासम्मलाई प्रवेश दिएको भन्दै त्यतिबेला उनकै दलभित्र चर्को विरोध भएको थियो । तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताले त्यतिबेला सरकारले गरेका नियुक्तिप्रति आपत्तिमात्र जनाएनन्, ओलीले विधि, पद्धतिसमेत मिचेको भन्दै कडा विरोध गरिएको थियो । अहिले परिस्थिति फेरिएको छ तर प्रवृत्ति उस्तै छ । तत्कालीन प्रधानमन्त्री ओली अहिले प्रमुख प्रतिपक्ष दलको नेता छन् भने त्यतिबेला ओलीको आलोचना गर्ने प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु सत्ता पक्षमा छन् । नातावादको अवस्था भने उस्तै छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले अहिले नातागोतालाई अवसर दिन थालेका छन् । प्रचण्डले राष्ट्रियसभा सदस्यमा आफ्नै भाइ नारायण दाहाललाई नियुक्त गराएपछि नेकपा एमालेका अध्यक्ष ओलीले आपत्ति जनाए । यसअघि माओवादी बागमती प्रदेश अध्यक्ष रहेका दाहाललाई राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित गर्ने कोटामा पारिएको हो । नातावाद कृपावादको यत्रो बहस चलिराख्या छ देशमा । नातावाद कृपावादको अचाक्ली भयो, क्रान्तिकारी हुँ भन्नेले आफन्त बाहेक अरुलाई नियुक्त गर्दैनन् भन्ने थियो,’ ओलीले प्रचण्डतर्फ व्यङ्ग्य गर्दै भने, ‘पुष्पकमलका भाइ नारायण कमल दाहाल एउटा अच्छा गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरियो । राष्ट्रपतिबाट नियुक्त गर्ने कोटामा उहाँलाई नियुक्त गरियो । तत्कालीन माओवादी जनयुद्धमा लागेका कतिपय नेता–कार्यकर्ता शरीरमा गोली लिएर हिँडिरहेको भन्दै ओलीले उनीहरू राष्ट्रियसभामा नपर्नु दुःखद भएको टिप्पणी गरे । ‘यत्रो बिघ्न घाइतेहरू छन् । यत्रो बिघ्न सहिद परिवार छन् । यत्रो बिघ्न आन्दोलन गरेका मान्छेहरू, दुःख पाएका मान्छेहरू छन् । अपाङ्गता भएका व्यक्तिहरू छन् । शरीरमा गोली लिएर हिँडिरहेका व्यक्ति छन् । जनयुद्धका नाममा ज्यान हत्केलामा राखेर मौकाले बाँचेका मान्छेहरू छन्,’ ओलीले सान्त्वना दिएजस्तो गर्दै भने, ‘ती सबै मान्छेहरूलाई पन्छाएर, तिनलाई छोडेर अनादर र उपेक्षा गरेर आफ्नै भाइलाई राष्ट्रियसभा सदस्य बनाउने बुद्धि, मति, क्रियाकलाप हेर्दा देश बनाउने कुरा यिनका मनमा छैन । ओलीले प्रचण्डको विरोध गरे पनि उनीसमेत त्यसबाट अछुतो छैनन् । उनी सत्तामा हुँदा यस्तै नातागोता र बिचौलियालाई नियुक्त गरेको भन्दै तत्कालीन नेकपामा चर्को विरोध भएको तथ्यलाई समेत बिर्सन मिल्दैन ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार