निर्वाचन आयोगले माग्यो ६ करोडको चुनावी खर्चबारे जवाफ…..

काठमाडौँ — ‘२०७४ सालको संघीय संसद्को चुनावमा ६ करोड खर्च भयो’ भन्ने अभिव्यक्ति दिएका कांग्रेस नेता शशांक कोइरालासँग निर्वाचन आयोगले जवाफ मागेको छ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि २५ लाख रूपैयाँसम्म खर्च सीमा तोके पनि कोइरालाले निर्वाचन महँगो हुँदै गएको र गत निर्वाचनमा आफ्नो ६ करोड खर्च भएको बताएका थिए । निर्वाचन आयोगसमक्ष भने उनले २१ लाख ७५ हजार खर्च भएको विवरण पेस गरेका थिए । निर्वाचन आयोगले कोइरालासँग गत निर्वाचनमा गरेको खर्चको यथार्थ जानकारीसहित ७ दिनभित्र जवाफ मागेको हो । निर्वाचन आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यममार्फत कोइरालाले दिनु भएको अभिव्यक्तिअनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकाले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस विषयमा के कसो भएको हो । सात) दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ । नेता शशांक कोइरालाले शनिबार एक कार्यक्रममा विगतमाभन्दा चुनाव निकै खर्चिलो भएको बताएका थिए । उनले अब चुनाव लड्छु भन्नेबित्तिकै ६/७ करोड चाहिने अवस्था रहेको बताएका थिए । नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले आफूले तीन पटक चुनाव लड्दा करिब १० करोड खर्च गरेको सुनाएका थिए । मैले आफ्नो कुरा गर्दा नवलपरासीबाट तीन पटक जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो, दोस्रो चुनावमा त्यो तीन करोड पुग्यो । गएको चुनावमा त छ करोड रुपैयाँ खर्च भयो,’ कोइरालाले भनेका थिए, ‘तपाईंहरूमध्ये कोही चुनाव लड्न तयार हुनुहुन्छ भने म छोड्न तयार छु । चुनाव किन यति महँगो भएको हो ? अब कसले चुनाव लड्न सक्छ ? चुनाव लड्छु भन्नेबित्तिकै तपाईंलाई कमसेकम ६/७ करोड चाहिने अवस्था छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार