ललितपुरमा गठबन्धनभित्र लफडा…..

ललितपुर- ललितपुर जिल्लाको एक महानगरपालिकासहित ६ स्थानीय तहमा सत्ता गठबन्धनभित्र सर्वसम्मत हुन नसकेपछि लफडा भएको छ। सत्ता गठबन्धनमा सहभागी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि बाग्मती प्रदेश कमिटी र केन्द्रमा सिफारिस गरिएको हो । गठबन्धनमा सहभागी जसपा र राष्ट्रिय जनमोर्चाले वडामै चित्त बुझाउने भएपछि खासै विवाद भएन। तर, काँग्रेस,माओवादी र एकीकृत समाजवादीले आ–आफ्नै दाबी कायमै राखेपछि प्रदेश र केन्द्रमा सिफारिस गरिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरिकृष्ण थापाले बताए। ‘ललितपुरमा एक महानगर,दुई नगरपालिका र तीन गाउँपालिका छन् । त्यहाँ एकले अर्कोलाई छोड्न स्थिति बनेन,’ रातोपाटीसँग कुरा गर्दै थापाले भने,‘त्यसपछि महानगरपालिका केन्द्र र नगरपालिका र गाउँपालिका प्रदेशले टुङ्गो लगाउने गरी आ–आफ्नो दाबी सहित पठाएका छौँ ।  ललितपुरका ६ स्थानीय प्रमुख/उपप्रमुखको भागवण्डा मिलाएपछि टुङ्गो लगाएपछि वडाको भागवण्डा लगाउने माओवादी केन्द्रका जिल्ला अध्यक्ष शिव कट्टेलले बताए। ‘हामीले ललितपुरका ६ स्थानीय तहका प्रमुख/उपप्रमुखको भागवण्डाका विषयमा छलफल गर्‍यौँ । सर्वसम्मत हुन सकेन त्यसपछि केन्द्र र प्रदेशमा सिफारिस गरेका छौँ,’ कट्टेलले भने,‘सबै स्थानीय तहको भागवण्डा मिलेपछि वडालाई सर्वसम्मत गरेर भागवण्डा गर्छौँ । यदि नमिलेमा त्यही ढङ्गले हल गर्ने विधि खोज्नेछौँ ।’ ललितपुरमा गठबन्धनमा सहभागी सबै दलको तानातान भएपछि सर्वसम्मत हुन नसकेको कट्टेलले बताए। जिल्लाले मिलाउन नसकेपछि प्रदेश कमिटीले भागवण्डा गरेर मिलाउने भएको छ।   साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार