दमकमा कांग्रेस–माओवादीले राप्रपासँग तालमेल गर्ने…..

काँकडभिट्टा — पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कांग्रेस–माओवादीले राप्रपासँग तालमेल गर्ने आइतबार सहमति गरेका छन् । एमाले भने एक्लै चुनावी मैदानमा होमिएको छ । जनाधार कमजोर रहेको एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छ । कांग्रेस–माओवादी र राप्रपाबीचको लामो संवादपछि भएको सहमतिअनुसार राप्रपाका पुराना नेता तथा पूर्वनगरप्रमुख राम थापालाई प्रमुखमा उम्मेदवार बनाउने र दुई वडा (१ र ७) मा वडाध्यक्ष दिने, उपप्रमुखसहित ४ वडा (२, ६, ८ र ९) मा वडाध्यक्ष कांग्रेसलाई दिने र ४ वडा (३,४, ५ र १०) माओवादी केन्द्रलाई दिने सहमति भएको नेपाली कांग्रेसका नेता प्रकाश प्रसाईंले जनाए । उनले भने,‘कार्यपालिका सदस्यहरुसमेत तीनै दलले बाँडेर जाने सहमति भएको छ । माओवादी नगर अध्यक्ष रवि बस्नेतले प्रदेश र संघीय चुनावसम्मै यो गठबन्धन रहने पनि तीन दलबीच लिखित सम्झौता भएको जनाए । नगरको चुनावी रणनीतिबारे तीव्र चासोका बीच एमालेले प्रमुखमा गीता अधिकारी उम्मेदवार बनाएको छ । उनी अघिल्लो कार्यकालमा उपप्रमुख थिइन् । अध्यापन छाडेर राजनीतिमा आएकी अधिकारी कार्यकुशलताका दृष्टिले अब्बल मानिन्छिन् । उपप्रमुखमा अम्विका खनाल उम्मेदवार बन्दैछन् । एमाले नगरको आन्तरिक निर्वाचनबाटै नचुनिएपछि ओलीका नातेदार तथा वहालवाला प्रमुख रोमनाथ ओली प्रमुखको दौडबाट बाहिरिएका थिए । एमालेको आन्तरिक निर्वाचनमा अधिकारीसहित होमबहादुर थापा र अम्बिका खनालको नाम प्रमुखका लागि सिफारिस भएको थियो । उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा जिल्ला कमिटीले केन्द्रीय अध्यक्ष ओलीलाई सुम्पिएको थियो । सोही बमोजिम शनिबार अधिकारीलाई प्रमुखको उम्मेदवार बनाउने निर्णय भएको हो । दमकमा अधिकारीसहित एमालेले यसपटक तीन पालिकामा महिलालाई प्रमुख/अध्यक्षको उम्मेदवार बनाएको छ । विर्तामोडमा पवित्रा महतरा र बुद्धशान्तिमा मीरा भूर्तेल प्रमुख पदमा उठ्दैछन्। अघिल्लो पटक कमल गाउँपालिकामा मेनुका पाठकलाई अध्यक्षको उम्मेदवार बनाएको थियो । कांग्रेस र माओवादीले राप्रपासँग तालमेल गरेपछि एमाले सशंकित बनेको हो । तालमेलपछि एमालेलाई सहजै पराजित गर्न सकिने दाबी मिलेका दलहरुको छ । माओवादी, कांग्रेस र राप्रपाले तालमेल गर्नुअघि एमाले आफैले राप्रपासँग तालमेल गर्ने प्रयत्न गरेको थियो । तर, राप्रपालाई उपप्रमुख र केही वडामा अध्यक्ष दिने एमालेको प्रस्तावलाई राप्रपाले नकारेपछि वार्ता असफल भएको थियो । ‘विशाल जनलहर भएको दमकमा एमालेले राप्रपालाई विभाजित गर्न ललिपप देखाएको थियो,’राप्रपाका एक नेताले भने,‘तर, हामी सजग भयौ, विभाजन हुन दिएनौं ।  राप्रपालाई विभाजन गर्न सक्दा मात्रै ढुक्कले जित्न सक्ने मनोविज्ञान एमालेमा थियो । राप्रपाको कांग्रेस र माओवादीसँग तालमेलपछि एमालेले मुख्य पदमा जित्ने सम्भावना अब अन्त्य भएको दाबी माओवादीका एक नेताको छ । ओलीको नगर भएकाले एकीकृत समाजवादीको उपस्थिति भने कमजोर छ । माओवादीले ‘डोमिनेट’ गरेको भन्दै गठबन्धनबाट समाजवादी बाहिरिएको छ । उसले लिम्बुवान र लोकतान्त्रिक समाजवादी (लोसपा) सँग तालमेल गर्ने जनाएको छ । समाजवादीका दमक नगर सचिव अनिल देव राईका अनुसार प्रमुखमा इन्द्र बुढाथोकी र उपप्रमुखमा विष्णुमाया काङमाङलाई उम्मेदवार वनाउने टुंगो लागिसकेको छ । ‘दमकका २ र ५ नम्बर वडाहरुमा लिम्बुवान र लोसपासँग तालमेल हुन्छ,’ नगर सचिव राईले भने ।

लिङ्देनको क्षेत्रमा कांग्रेस–एमाले एक:-

एमालेविरुद्ध देशैभर पाँच दलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा ओर्लिरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने कचनकवल गाउँपालिकामा भने एमाले र कांग्रेसले राप्रपाविरुद्ध तालमेल गरेका छन् । पटक–पटकको वार्ता र संवादपछि राप्रपाविरुद्ध एमालेसँग मिलेर जाने सहमति जुटेको कांग्रेस कचनकवलका गाउँ सभापति तुलाराम अधिकारीले जानकारी दिए । रापप्राको बलियो पकड रहेको यो पालिकामा यी दुई दलले गठबन्धन गरे राप्रपा पराजित हुने निश्चित छ । अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडाध्यक्ष र सदस्य जितेको थियो । यसपटक पनि जित दोहोऱ्याउने मनस्थितिमा रहेको राप्रपाविरुद्ध केन्द्रमै एमाले–कांग्रेसबीच गठजोडका लागि सहमति भएको श्रोतको दाबी छ । अध्यक्षमा कांग्रेसका कालेन्द्रसिंह राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उम्मेदवार बन्दैछन् । राजवंशी २०७४ को चुनावमा राप्रपाका अञ्जार आलमसँग पराजित भएका थिए । राप्रपाले आलम र उपाध्यक्ष निमसरी राजबंशीलाई पुन: दोहोऱ्याउने निर्णय गरेको छ । नेपालकै होचो भूभाग कचनकवलमा मुस्लिम र आदिवासी समुदायको बाहुल्यता छ ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार