को बन्लान् त प्रहरी महानिरीक्षक ?…..

काठमाडौं-   वैशाख १९ गते ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बिदा हुँदैछन् । अवकास पाउनुभन्दा एक महिना पहिले नै बिदामा बस्ने चलन रहे पनि महानिरीक्षक थापा बिदामा बस्न पाएनन् । स्थानीय तहको निर्वाचन मिति नजिकै आएका कारण प्रहरी परिचालन लगायतका काममा असर पर्ने भन्दै सरकारले थापालाई बिदामा बस्न दिएको छैन । सरकारले बिदामा बस्न नदिए पनि वैशाख १९ गतेपछि उनी अनिवार्य अवकाशमा जाँदैछन् र त्यसपछि प्रहरी संगठनले नयाँ महानिरीक्षक पाउने निश्चित छ । नेपाल प्रहरीको नियमावलीमा प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात् एआईजी मध्येबाट बढुवा गरी प्रहरी महानिरीक्षक बनाउने उल्लेख छ । प्रहरी नियमावली, २०७१ को नियम ४१ मा एआईजी मध्येबाट सरकारले चाहेको व्यक्तिलाई महानिरीक्षक बनाउन सक्ने उल्लेख छ । नियमावलीको नियम ४१ मा यस्तो व्यवस्था छ–:

४१. प्रहरी महानिरीक्षक पदमा बढुवा :   यस नियमावलीको नियम २८ मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकहरू मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व वहन गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ । यसरी एआईजी मध्येबाट आईजीपीमा बढुवा गर्ने कानूनी व्यवस्था अनुसार अबको केही दिनमै नेपाल प्रहरीमा नयाँ आईजीपी आउनेछन् । वैशाख १९ गतेपछि नयाँ आईजीपीको फुली लगाउन चारजना एआईजीहरु प्रतिस्पर्धामा छन् । हाल प्रहरी अतिरिक्त महानिरीक्षकहरु विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रवीन्द्र धानुक प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा अगाडि देखिएका छन् । यी चारै जना एआईजी २०४९ साल चैत १२ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन् । हाल प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा रहेका एआईजीमध्ये वरिष्ठताका आधारमा विश्वराज पोखरेल एक नम्बरमा छन् । सहकुल बहादुर थापा दुई नम्बरमा छन् भने धिरज प्रताप सिंह तीन र रवीन्द्र धानुक चार नम्बरमा छन् । अन्य एआईजी भने आईजीपी शैलेश थापा क्षेत्रीसँगै अनिवार्य अवकाशमा जाँदैछन् ।  साभार : रापा
१६ नम्बरको इन्स्पेक्टर १ नम्बरमा एसएसपी !
डीआईजी र एआईजीमा पनि पोखरेलको छलाङ, पद सिर्जना गरेर बढुवा ।
को बन्लान् भावी आईजीपी ?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार