यस्तो छ आजको स्थानीय तह चुनावको रूपरेखा……

आज वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन । बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म मतदाताले जनप्रतिनिधि चुन्नका लागि मतदान गरिरहेका छन् । देशका ७७ जिल्लाका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्न पाउनेछन् । उनीहरुले निर्विरोध भएका ३ सय ९० सहित ३५ हजार २ सय २१ पदमा प्रतिनिधि छनौटका लागि मतदान गर्दैछन् । ७७ जिल्लाका ७ सय ५३ स्थानीय तहमा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये पुरुष उम्मेदवार ८९ हजार ३ सय १३ जना र महिला उम्मेदवार ५५ हजार ६ सय ९८ जना रहेका छन् । यो सङ्ख्याबाट जम्मा ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । साथै हालसम्म ३ सय ९० जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । यो निर्वाचनका लागि योग्य मतदाता सङ्ख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना रहेका छन् । जसमध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना रहेका छन्, महिला मतदाता सङ्ख्या ८७ लाख ४१ हजार ५ सय ३० तथा अन्य मतदाता १ सय ८३ जना रहेका छन् । स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दल निर्वाचन आयोगमा दर्ता भएका थिए । तर यी दर्ता भएका सबै दलले चुनावमा उम्मेदवार मनोनयन गराएनन् । यसरी दर्ता गराएर एउटा पनि उम्मेदवारी मनोनयन नगराएका दलको सङ्ख्या १४ रहेको छ । निर्वाचनमा मनोनयन गराएर हाल ६५ दलले निर्वाचनमा सहभागिता जनाएका छन् ।

यो स्थानीय तह निर्वाचनबाट ३५ हजार २ सय २१ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् । जसमध्ये नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरेर ७ सय ५३ जना, नगरपालिका उपप्रमुख र गाउँपालिका उपाध्यक्ष गरेर ७ सय ५३ जना निर्वाचित हुनेछन् । यस्तै नगरपालिका तथा गाउँपलिकामा रहेका वडाहरूका लागि ६ हजार ७ सय ४३ वडाध्यक्षहरू निर्वाचित हुनेछन् । महिला सदस्य ६ हजार ७ सय ४३ जना, दलित महिला सदस्य ६ हजार ७ सय ४३ जना र खुला वडा सदस्य १३ हजार ४ सय ८६ जना निर्वाचित हुनेछन् । प्रदेश अनुसार स्थानीय तह, मतदान केन्द्र र मतदाताको अवस्था यस्तो छ :

प्रदेश नम्बर १ :

यो प्रदेशमा १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका, ८८ गाउँपालिका गरी जम्मा १ सय ३७ पालिका रहेको छ । यो प्रदेशमा ११ सय ५७ वडा रहेका छन् । कुल मतदाता सङ्ख्या ३३ लाख ४७ हजार ३ सय ८४ जना रहेका छन् । मतदान स्थल १ हजार ८ सय ७७ र मतदान केन्द्र ४ हजार ५१ रहेका छन् ।

मधेस प्रदेश :

यो प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तह रहेका छन् । यो प्रदेशमा १२ सय ७१ वटा वडा कार्यालय रहेको छ । आज भइरहेको स्थानीय तह चुनावका लागि ३३ लाख ३१ हजार १ सय ७० मतदाता रहेका छन् । मतदान स्थल २ हजार १ सय ६३ रहेको छ भने मतदान केन्द्र ४ हजार १ सय ८९ रहेको छ ।

बागमती प्रदेश :

यो प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका, ७४ गाउँपालिका गरी १ सय १९ पालिका रहेका छन् । यो प्रदेशमा ११ सय २१ वडा रहेका छन् । कुल मतदाता सङ्ख्या ३४ लाख १२ हजार ८ सय ६९ रहेका छन् । १ हजार ७ सय ९२ मतदान स्थल रहेको छ भने ४ हजार ९५ मतदान केन्द्र रहेका छन् ।

गण्डकी प्रदेश :

यो प्रदेशमा १ महानगरपालिका, २६ नगरपालिका, ५८ गाउँपालिका गरी ८५ पालिका रहेका छन् । यो प्रदेशमा ७ सय ५९ वडा रहेका छन् । कूल मतदाता सङ्ख्या १७ लाख ८९ हजार ४ सय ११ रहेका छन् भने १२ सय ५३ मतदान स्थल र २३ सय मतदान केन्द्र रहेका छन् ।

लुम्बिनी प्रदेश :

यो प्रदेशमा एउटा पनि महानगरपालिका रहेको छैन । ४ उपमहानगरपालिका, ३२ नगरपालिका, ७३ गाउँपालिका गरी १ सय ९ पालिका र ९ सय ८३ वडा रहेका छन् । यो प्रदेशमा कूल मतदान स्थल १ हजार ६ सय २९ र ३ हजार ८ सय ३२ मतदान केन्द्र रहेका छन् ।

कर्णाली प्रदेश :

यो प्रदेशमा महानगर तथा उपमहानगरपालिका रहेको छैन । नगरपालिका २५, गाउँपालिका ५४ गरी ७९ पालिका रहेका छन् । जहाँ ७ सय १८ वडा रहेका छन् । यो प्रदेशमा कूल मतदाता १० लाख १ हजार २ सय ८२ रहेका छन् । ९ सय ७ मतदान स्थल र १३ सय ८५ मतदान केन्द्र रहेका छन् ।

सुदूरपश्चिम प्रदेश :

यो प्रदेशमा १ उपमहानगरपालिका, ३३ नगरपालिका, ५४ गाउँपालिका गरी ८८ पालिका रहेका छन् भने ७ सय ३४ वडा रहेका छन् । यो प्रदेशमा कूल मतदाता १६ लाख ३२ हजार १ सय ५० रहेका छन् । मतदान स्थल ११ सय ३५ रहेको छ भने मतदान केन्द्र २१ सय ३ रहेका छन् ।

निर्वाचनको सुरक्षाका लागि कति सुरक्षाकर्मी ? 

निर्वाचन आयोगले ७७ जिल्लामा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६ सय ७६ वटा निर्वाचन अधिकृतको कार्यालय, ७ वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई चलायमान गराएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि देशभरका मतदान केन्द्रमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिएका छन् । यस्तै ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरू पनि खटिएका छन् । सुरक्षाकर्मी तर्फ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी गरेर २ लाख ६० हजार हाराहारी सुरक्षाकर्मी निर्वाचन सुरक्षा प्रयोजनका लागि खटिएका छन् । उनीहरुले मतदान स्थल तथा मतगणना स्थललाई ३ घेरा बनाएर सुरक्षा प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार