मतगणनाको अन्तिम परिणाम १० दिनभित्र……

निर्वाचन आयोगले मतगणनास्थल र कर्मचारी थप गरेर देशभरिको मतगणनाको अन्तिम परिणाम १० दिनभित्र सार्वजनिक गर्ने दाबी गरेको छ । ललितपुर महानगरमा एक, भरतपुर महानगरमा दुई र काठमाडौं महानगरमा ६ ठाउँमा गणना भइरहेको छ । तर धेरै मतदाता भएका सबै महानगरको गणना निकै सुस्त छ । सबै पालिकामा मतगणनास्थल थप गरेर चाँडै नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायतको टोली शनिबार काठमाडौं महानगरपालिका र भक्तपुरका मतगणनास्थलको अनुगमनमा निस्केको थियो । अनुगमनपछि थपलियाले मतगणनास्थल थप गरेर गणनाको गति बढाउने योजना बनाएका हुन् । २०७४ को निर्वाचनमा अन्तिम मतपरिणाम आउन १७ दिनसम्म लागेको थियो । चुनाव सम्पन्न भएलगत्तै शुक्रबार आयोगले ५ दिनभित्र सबै पालिकाको नतिजा आइसक्ने घोषणा गरेको थियो । ‘१८ घण्टामा एउटा वडाको मतगणना सकियो भने ५ दिनमा सबै स्थानको मतपरिणाम आउन सक्ने अनुमान गरेका थियौं,’ थपलियाले भने, ‘गणना गर्ने स्थान कम भएपछि अन्तिम परिणाम आउन समय लाग्ने देखियो ।’ आयोगले जनशक्ति र स्थान थप गरी मतगणना बढाउन निर्देशन दिएको छ । बढीमा १० दिनभित्र अन्तिम नतिजा आइसक्ने उनले बताए । काठमाडौंमा तत्काल दुई स्थान थप गर्न निर्देशन दिएको उनले बताए । भरतपुरमा २ बाट बढाउन निर्देशन दिइसकेको आयोगले जनाएको छ । भरतपुरमा सबैभन्दा ढिलो मतगणना भइरहेको आयोगमा रिपोर्टिङ आएको छ । मतदान भएको सबैजसो स्थानमा गणना सुरु भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । काठमाडौं र ललितपुर महानगरपालिकाको मतगणना गति पनि सुस्त छ । ललितपुर महानगरमा २९ वटा वडा छन् । शुक्रबारको मतदानमा ८६ हजार ५ सय ४० मत खसेको छ । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा महानगरको १ नम्बर वडाबाट मतगणना थालिएको छ । उक्त वडामा १७२६ मत खसेको थियो । शनिबार राति १० बजेसम्म ६०० मतमात्र गनिएको छ । यही गतिमा गणना सकिन कम्तीमा २० दिन लाग्ने निर्वाचन अधिकृतहरू नै स्वीकार गर्छन् । ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले उम्मेदवारहरू दलीय प्रतिनिधिमात्र नभई स्वतन्त्रबाट पनि धेरै जना भएकाले व्यवस्थापन गर्न मुस्किल परेको दाबी गरे । ‘मतगणनास्थल दुई ठाउँमा बनाउन कोठाको व्यवस्थापन गर्ने योजनामा छु,’ उनले भने । उनले ठूलो मतपत्र भएकाले पनि गणनामा ढिलाइ भएको बताए । ललितपुर महानगरमा एमालेबाट मेयर प्रत्याशी हरिकृष्ण व्यञ्जनकारले गणना सुधार गर्न प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताए । ‘तीन ठाउँमा गर्ने भन्ने कुरा भएको छ,’ उनले भने । स्वतन्त्र उम्मेदवार अजरमान जोशीले पनि ५ स्थानमा गणना गर्न सुझाव दिएको बताए । काठमाडौं महानगरपालिकाको गणनाको गति पनि उस्तै छ । कुल मतदाता ३ लाख २ सय ४२ जना रहेकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ । महानगरमा ३२ वटा वडा छन् । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा शनिबार बिहान करिब १० बजेबाट गणना थालिएकोमा राति १० बजेसम्म २ हजार २ सय ८३ मतमात्र गनिएको छ । अहिलेकै गतिमा गणना गरिए अन्तिम परिणाम आउन कम्तीमा पनि एक महिना लाग्ने देखिन्छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले १० छुट्टाछुट्टै ठाउँमा राखेर गणना गर्ने तयारीमा रहेको बताए । ‘मतगणना सुस्त गतिमा भयो भनेर ठाउँ/ठाउँबाट चुस्तदुरुस्त बनाउन सुझाव आइरहेको छ,’ उनले भने, ‘कमीकमजोरी सुधार्दै अगाडि बढ्दै छौं ।’ उनले मतगणनाको गति बढाउन प्रयास भइरहेको बताए । ‘हामी आवश्यक थप जनशक्ति र स्थानको व्यवस्थापन थालेका छौं,’ उनले भने । उपत्यकाका दुवै महानगरमा मत परिणाम सार्वजनिक गर्ने तरिका पनि चुस्तदुरुस्त छैन । उपत्यकाका दुवै महानगरपालिकाले राति पनि मतगणना हुने जनाएका छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार