तत्काल विद्यालयमा पुर्‍याउन संसदीय समितिको निर्देशन…..

काठमाडौँ — नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भइसके पनि ३५ लाख थान पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको छैन । जनक शिक्षा सामग्री केन्द्रले चालु शैक्षिक सत्रका लागि आवश्यक १ करोड ९८ थान पुस्तक छाप्नुपर्ने थियो । समयमै कागज आपूर्ति नहुँदा १ करोड ६३ लाख थान पुस्तक मात्रै छपाइ सम्भव भएको केन्द्रले जनाएको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले रुस–युक्रेनबीचको द्वन्द्वका कारण कागज अभाव हुँदा समयमै पुस्तक छाप्न नसकिएको दाबी गरेका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार गरेको छलफलमा उनले स्थानीय तह चुनावको मतपत्र छपाइको असर पाठ्यपुस्तक छपाइमा परेको बताए । ‘रुस–युक्रेन युद्धले चैत १० सम्म आउनुपर्ने कागज आउन सकेन । मतपत्र छपाइ र चुनावले पनि ढिलाइ हुन पुग्यो,’ उनले थपे, ‘अहिले कागज आइसकेको छ, धमाधम पुस्तक छपाइ थालेका छौं ।’ असार पहिलो सातासम्म छापिसक्ने झाले प्रतिबद्धता जनाए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला बज्राचार्यले छपाइ र ढुवानी सँगसँगै गरेर यथाशक्य छिटो पुस्तक पुर्‍याउने बताइन् । बैठकमा सांसद योगेश भट्टराईले भने जनक शिक्षा र शिक्षा मन्त्रालयले छाप्न बाँकी पुस्तकको तथ्यांक लुकाएको आरोप लगाए । ‘मैले पाएको जानकारीअनुसार ७५ लाख पुस्तक छाप्न बाँकी छ, गलत तथ्यांक दिएर भ्रममा पार्न खोजिएको छ,’ उनले भने । सांसद भट्टराईले रुस–युक्रेन युद्धले पछिल्लो समय कागज अभाव भए पनि जनक शिक्षाको लापरबाहीका कारण समयमै छपाइ हुन नसकेको जनाए । ‘शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअघि नै विद्यालयमा पुर्‍याउनुपर्ने पुस्तक अहिले मात्रै छाप्न थालिएको छ,’ उनले भने, ‘विद्यार्थीले असोजसम्म नपाउने अवस्था छ ।’ पुस्तक विक्रेताहरूले पनि जनक शिक्षाले यकिन तथ्यांक उपलब्ध नगराएको र ३५ लाखभन्दा बढी पुस्तक छाप्न बाँकी रहेको जनाएका छन् । एक महिनाभित्र पुस्तक छापिसक्न र छापिएका पुस्तक तत्काल विद्यार्थीसम्म पुर्‍याउन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । छलफलमा मन्त्रालयका प्रवक्ता दीपक शर्मा, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपाने पनि सहभागी थिए । जनक शिक्षाले दैनिक ८० हजार र प्रज्ञा प्रतिष्ठानले २५ हजार गरेर असार पहिलो सातासम्म छपाइ सकिने केन्द्रका प्रबन्ध निर्देशक झाले बताए । उनका अनुसार पुस्तक छपाइका लागि प्रज्ञा प्रतिष्ठानसँग सम्झौता भइसकेको छ । आगामी वर्ष पुस्तक अभाव हुन नदिन मंसिर/पुससम्म कागज खरिद गरिसक्ने र ३ वटा छपाइ मेसिन थप गर्ने सम्झौता अघि बढेको पनि उनले बताए । सांसदहरूले भने विभिन्न बहाना बनाएर जनक शिक्षाले समयमै पाठ्यपुस्तक छपाइ गर्न नसकेको धारणा राखेका थिए । ‘अहिले पो युक्रेन–रुस युद्ध भयो, पाठ्यपुस्तक बेलामा नछाप्ने त पुरानो रोग भइसक्यो,’ सांसद मानबहादुर विश्वकर्माले भने, ‘हरेक वर्ष विद्यार्थीमाथि घात हुँदै आएको छ ।’ सरकार र जनक शिक्षाको गैरजिम्मेवारीका कारण ढिलासुस्ती हुने गरेको उनको भनाइ थियो । ‘जनक शिक्षाको क्षमता वृद्धि गर्नुस्, बेलैमा पुस्तक दिन नसक्ने भए निजी क्षेत्रलाई पनि जिम्मा दिनुस् । निजी मुद्रक व्यवसायीहरूले पाठ्यपुस्तक छपाइको काम सरकारले खोसेको गुनासो गरिरहेका बेला सांसदहरूले निजी छापाखानालाई पनि पुस्तक छाप्न दिनुपर्ने बताएका हुन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले यसपालि कक्षा ४ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षालाई छाप्न दिने निर्णय गरेका थिए । कक्षा १–३ का पुस्तक मात्रै निजी मुद्रणले छपाइ रहेका छन् । छापिएका पाठ्यपुस्तक जेठ ९ देखि विक्रेतालाई वितरण गर्न थालिएको जनक शिक्षाले जनाएको छ । तर विक्रेताहरूले पूरा सेट नभएका कक्षाका पुस्तक डिपोबाट ढुवानी थालेका छैनन् । सूचीकृत भएका करिब १२ सय विक्रेताले ढुवानी रकम अग्रिम रूपमा पाउनुपर्ने माग अघि सारेका छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार