अब देश बनाउने पालो युवाको,नेतृत्वमा जोशिला पंक्ति…..

काठमाडौं-   नेपाली राजनीतिले रुचाएको एउटा भाष्य छ, युवा नेता । उमेरले डाँडा काटेको किन नहोस् उनीहरूको नाम अघिल्तिर जोडिने विशेषण हो यो । त्यसैले त हामीकहाँ कतिपय नेतालाई सम्बोधन गर्दा भनिन्छ, ‘युवा नेता फलानो ।’ तर, यसपालिको निर्वाचनले युवा नेताको व्याकरण सच्याइदिएको छ । नेतृत्वमा साँच्चै नै युवापंक्ति उभिएका छन् । र, स्थानीय तहको परिदृश्य केही फेरबदल गरिदिएका छन् । ‘राजनीति भनेको फोहोरी खेल हो’ भन्ने पुस्तामा बेग्लै उत्साह अनि उमंग संचार गराइदिएका छन् । परिवर्तन’ खोजिरहेका आम युवाको भावना यसपटक मतपेटिकाबाट प्रकट भएको छ । भीड जम्मा गरेर, भड्किलो प्रचारबाजी अपनाएर, मासु र मदिराको भोज खुवाएर, अनेक प्रलोभन देखाएर नेतृत्वमा पुग्ने काइते जुक्तिलाई मतदाताले बदर गरिदिएका छन् । सुस्त, भ्रष्ट र अराजक सत्ताप्रतिको वितृष्णासँगै पुरातन ढर्राको कार्यशैली सच्याउन दिएको तोडिलो सन्देश पनि हो यो । लौरो, सहाराको प्रतीक । दण्डको प्रतीक । मार्गदर्शनको प्रतीक । त्यही लौरोले यसपालि नराम्ररी झट्का दिएका छन्, कतिपय नेता-कार्यकर्तालाई । चाहे त्यो बालेन साहहरूले उठाएका लौरो होस् वा हर्क साम्पाङहरूले ।

बालेन्द्र साह:

३२ वर्षीय बालेन्द्र साह मुलुककै जेठो तथा संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका छन् । पेसाले इन्जिनियर र रुचिले गायक तथा र्‍यापरसमेत हुन् बालेन । मधेशी मूलका साह काठमाडौंको गैह्रीगाउँमा जन्मेका हुन् । उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह र “ुवदेवी साहका छोरा हुन् । हृवाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् । २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए । काठमाडौं महानगरपालिकामा पुराना राजनीतिक दलको धङधङी मात्रै तोडेका छैनन् बालेनले देशभरका युवामा जागरण र काठमाडौंका मतदातामा नयाँ युवा लहर ल्याइदिएका छन् । काठमाडौंको नगरप्रमुखमा कांग्रेस र एमालेलाई बालेनले दोब्बर मतले पछि पारेर जित हासिल गरेका छन् । बालेननले ६१ हजार ७६७ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जनाले ३८ हजार ३४१ र एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाए । बालेेनको चुनाव चिहृनको प्रभाव यतिसम्म पर्‍यो कि उम्मेदवारी नै नपरेको लौरोमा समेत मत आयो । यो युवाको जोश-जाँगर, भिजन र मिसनका कारण आएको हो ।

हर्क साम्पाङ:

स्थानीय चुनाव २०७८ मा सबैको ध्यान तानेका र चर्चित पात्र हुन् धरानका हर्क साम्पाङ राई । करिब १० वर्षदेखि धरानका जनसरोकारका मुद्दा उठाएर आन्दोलन गरिरहेका थिए उनी । कहिले खानेपानीको, कहिले स्वास्थ्य संस्थानमा भएका विकृतिको, कहिले बेरोजगारी, कहिले सरकारी सेवा-सुविधाका बारेमा राईले निरन्तर आवाज उठाइरहे । उनी धरानका समस्यालाई पन्छाउनका लागि एक्लै भए पनि लडिरहे, आन्दोलन गरिरहे । यहाँसम्म आइपुग्न साम्पाङले निकै संघर्ष गरेका छन् । सधैं प्रश्न गर्ने ठाउँबाट आज उनी उत्तर दिने ठाउँमा पुगेका छन् । चुनावको प्रचारप्रसार गर्न उनी एक्लै कुदिरहे । उनका अघि-पछि कुनै कार्यकर्ता र युवाको लहर थिएन । उनले अटो भाडामा लिएर एक्लै बोलिरहे । धरानका समस्या र समाधानका बारेमा निरन्तर बोलिरहे । चुनाव चिह्न लौरो पाएका उनलाई धराने जनताले महानगरको पिता बनाइदिए । एक्लै निरन्तर, लगनशील भएर भिडिरहेका साम्पाङलाई धराने जनताले पत्याए । २०७६ सालको स्थानीय तह उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका उनले ४२२ मत पाएका थिए । तर अहिले उनी २० हजार ८२१ मत ल्याएर विजयी भएका छन् । दुई ठूला राजनीतिक दललाई पछि पारेर एक आम मान्छे धरानको नगरपिता बनेका छन् । तर, उनको काम हेर्न भने बाँकी नै छ । श्रोत : अ खबर

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार