सम्पर्कविहीन विमान अझै अज्ञात…..

काठमाडौं-   आइतबार बिहान पोखराबाट मुस्ताङका लागी उडेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान १० बजेर ७ मिनेटमा सम्पर्क हीन भयो । सम्पर्क हीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी राखेका छन् । खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएन । विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको छ । फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी गरेका छन् । खराब मौसमका कारण दुवै हेलिकप्टरलाई पूर्ण क्षमतामा परिचालन गर्न नसकिएको सुरक्षा अधिकारीहरू बताउँछन् । म्याग्दीको शिख माथिको आकाशमा पुगेपछि सम्पर्कविहीन विमान शुरुमा मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा पुगेर बेपत्ता भएको आशङ्का गरिएको थियो । सेनाले सो क्षेत्रमा मुस्ताङको घाँसा पोष्टबाट ६५ जना सैनिक टिम परिचालन गरेको थियो । सेनाको टोलीले मुस्ताङको लेते आसपासमा खोजेका थिए । तर, विमान भेटिएन । लेते क्षेत्रमा फिस्टेल एयरको हेलिकप्टरले हवाई मार्गबाट पनि खोजी गरेको छ । विमान लेतेको टिटि ताल आसपास भएको आशङ्कामा सुरक्षाकर्मीहरूले स्थानीयसँग समन्वय गरेर सो क्षेत्रमा पनि खोजेका छन् । विमानको खोजीमा नेपाली सेनको मध्यकमाण्ड क्षेत्रका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ उद्धार टिमसँगै मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा पुगेका थिए । सेनाको एमआई–१७ हेलिकप्टर कोबाङमा अवतरण गरिएको थियो । मौसम खराब भएपछि सो हेलिकप्टर जोमसोम फर्किएको छ । विमान खोज्न स्थलमार्गबाट ४ वटा टिम परिचालन गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए । आइतबार अबेर सेनाले आफ्नो फौज मुस्ताङको मानापाथी हिमालतर्फ केन्द्रित गरेको गरेको थियो । स्थानीयले दिएको सूचनाका आधारमा मानापाथी हिमालको पहिरोमुनि उद्धार टोलीलाई परिचालन गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले रातोपाटीलाई बताए । तर, साँझ परेपछि पैदल टोली फिर्ता भएको छ ।  साभार : रापा 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार