झाँक्रीको मुहारमा भने हाँसोभन्दा बढ्ता रोदन…..

काठमाडौँ — आठ महिनाअघि नेकपा एकीकृत समाजवादीको तर्फबाट सहरी विकासमन्त्रीको शपथ ग्रहण गरेपछि रामकुमारी झाँक्री मन्त्रालयको हलमा उपस्थित थिइन् । पहिलोपटक मन्त्रीको रुपमा पदभार ग्रहण गरेपछि मन्त्रालयका अधिकारी र पत्रकारसमक्ष उपस्थित हुँदा उनी निकै खुसी देखिन्थिन् । उनको मुहारमा हाँसो मात्र थियो । एमालेबाट विद्रोह गरी नयाँ पार्टी बनाएर उनी पदमा पुगेकी थिइन् । आठ महिनापछि आइतबार साँझ मन्त्री पदबाट बाहिरिँदै गर्दा उनी उपस्थित भएको हल उही थियो । कर्मचारी र पत्रकारहरूबीच उनी घेरिएकी थिइन् । तर‚ महोल भने भिन्न थियो । झाँक्रीको मुहारमा भने हाँसोभन्दा बढ्ता रोदन देखियो । साँझ शहरी विकास मन्त्रालयका कर्मचारीहरुले एउटा कार्यक्रम राखेका थिए । मन्त्री पदबाट बिदा हुन लागेकी रामकुमारी झाँक्रीलाई लक्षित गरेर कर्मचारीले ‘फेरी भेटौंला’ कार्यक्रम राखेका थिए । सोही कार्यक्रमलाई भने मन्त्री झाँक्रीले पत्रकार सम्मेलन भनिन् । कार्यक्रममा मन्त्रालयका कर्मचारीका अलवा, मातहतका निकाय तथा विभागका प्रमुखहरुको उपस्थिति थियो । एक जना कर्मचारीले कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै सुरु गरे । त्यसपछि मन्त्रालयका सचिवले भइरहेको कामको बारेमा बेलिविस्तार लगाए । मन्त्रालयका अधिकारीहरुले गरेको कामको बारेमा जानकारी दिइरहँदा बीचमा बसेकी झाँक्रीको हाउभाउ अस्वभाविक थियो । उनी भावुक देखिन्थिन् । कर्मचारी बोलिरहँदा उनी बेला बेला टेबलको टिस्यू पेपर हातमा लिएर आँखाको गाजल पुछे जस्तो गर्थिन् । अन्य उपस्थितहरुलाई नहेरी उनी भावुक हुँदै भुईंमा हेरेर टोलाइरहिन् । सचिवले बोलिसकेपछि उनको बिदाइका लागि मन्त्रालयका कर्मचारीहरुले मायाको चिनो दिने कार्यक्रम थियो । ठूलो स्वरमा उनले ‘म त बोल्नै नसक्ने भएँ’ भन्दै रुन्चे हाँसो हाँसिन् ।’ मन्त्रालयका अधिकारीले उनलाई बोल्नका लागि पुनः आग्रह गरे । ‘मलाई त्यस्तो कुरा गर्ने मन नै छैन, संसद्‌मा बोलेर आएको । हजुर बोल्नुहोस्‚’ भन्दै रुन्चे स्वरमा उनले भनिन् । केही बेर टहलिएपछि एक जना पत्रकारले प्रश्‍न सोधेपछि उनले ‘म इमोसनल भएर प्रश्न इग्नोर गरेको हो; म आर्यघाट गएँ भने त्यो दिनभरि म यस्तै हुन्छु । घर पनि म ढिलो जान्छु । त्यसपछि झाँक्रीले बोल्न थालिन् । उनले मन्त्री नियुक्त भएको दिनदेखि नै आकांक्षीहरुले ‘काउन्ट डाउन’ गर्न थालेको थाहा पाएपछि आफूलाई हटाउने हुँदा मिडियालाई भन्दा पहिला आफूलाई जानकारी गराउन पार्टी नेतृत्वलाई आग्रह गरेको बताइन् । तर‚ उक्त आग्रहविपरीत मन्त्रीबाट हटाउने कुरा पहिला मिडियाबाट थाहा पाएको उनले बताइन् । चैतमा मन्त्री बनाउनेहरु र हुनेवालाहरुले शपथ कहिले भन्दै सोधेको र औंलामै गणना गरेर यति महिना भयो भनेको कुरा थाहा भएको उनको भनाइ थियो । पार्टीले निर्वाचको समीक्षा गराउनका लागि बोलाएको भन्ने थाहा भएपनि सरकारबाट फिर्ता बोलाउने निर्णय मिडियाबाट मात्रै थाहा भएको बताइन् । ‘हामी किताब छाप्‍नका लागि बिदाको दिन काम गर्दै थियौं । न्युज पनि मैले हेरेको थिइनँ । शनिबार दिउँसो १ बजेतिर थाहा पाएँ; पार्टीले भनेको छ भनेर,’ झाँक्रीले भनिन्,’पहिला जानकारी दिनू भनेका थियौं; मिडियाबाट नदिनुहोस् है भनेका थियौं तर मिडियाबाट थाहा भयो । उक्त घटना थाहा पाएपछि प्रधानमन्त्रीलाई नैतिक रुपमा काम गर्ने वातावरण नभएको भनेपछि प्रधानमन्त्रीले मुख्य सचिवमार्फत अन्य सचिवलाई भन्न लगाएर काम गर्ने वातावरण बनाइदिएको उनको भनाइ थियो । ‘पीएमले बजेटसम्म काम गर्नुहोस् भन्नुभयो । मुख्य सचिवलाई काम गर्ने वातावरण बनाउन भन्नुहोस् भनेर निर्देशन दिनुभयो,’ झाँक्रीले भनिन् । रुँदै झाँक्रीले बजेटको प्रतिवाद रहर भएको बताइन् । उनले संसद्‌मा त्यही कुरा भन्ने रहर भएकाले समय मागेको बताइन् । अनेक अड्कलबाजी भएपछि राष्ट्रियसभामा जवाफ दिएको उनले बताइन् । त्यसपछि उनी केही बेर चुपचाप बसिन् । एकछिन भक्कानिइन् । त्यसपछि सहयोगका लागि धन्यवाद भन्नका लागि पत्रकार सम्मेलन गरेको बताइन् । सबै कुरा भन्दै गर्दा झाँक्रीका पटक पटक आँसु खसे । आँखामा टिलपिल आँसु झार्दै बोल्दा झाँक्रीले एउटा खाली कागजमा डटपेनले कोर्दै आफ्ना कुरा राखेकी थिइन् । साभार : इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार