घोषणा नहुँदै चुनाव केन्द्रित क्रियाकलापमा दलहरु…..

काठमाडौं- मिति घोषणा नहुँदै आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । पछिल्ला दिनमा विभिन्न साना ठुला राजनीतिक दलदेखि स्वतन्त्र समूहहरु चुनाव केन्द्रित क्रियाकलापमा जुटेका हुन् । सरकारले निर्वाचन आयोगसँगको समन्वयमा आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो साता चुनावको मिति तोक्ने तयारी गरिरहेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै राजनीतिक दल र सरोकारवालाहरु चुनाव केन्द्रित गतिविधिसँगै आ–आफ्नो तयारीमा लागेका हुन् । २०७४ सालमा सम्पन्न निर्वाचनबाट चुनिएका प्रदेशसभा र प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल आगामी मंसिरमा सकिने भएपछि मंसिर महिनाभित्रै अर्को निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । सोही व्यवस्था अनुसार निर्वाचन हुने भएकाले राजनीतिक दल तथा उम्मेदवार आकांक्षीहरुको ध्यान निर्वाचन केन्द्रित बन्न पुगेको हो । निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु आन्तरिक तयारीसँगै अन्य पार्टीसँगको गठबन्धन, तालमेल वा सहकार्य कसरी र कस्तो बनाउने भन्ने रणनीतिक योजना तर्जुमा गरिरहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको नेतृत्वमा सत्तारुढ पाँच दलीय गठबन्धन बनेको थियो, जसमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा मिलेर चुनाव लडेका थिए । सत्तारुढ गठबन्धनको विपक्षमा प्रमुख प्रतिपक्ष नेकपा एमाले नेतृत्वमा अर्को गठबन्धन गरेको थियो । एमाले नेतृत्वको गठबन्धनमा लोसपा, राप्रपा, सीके राउत नेतृत्वको जनमत पार्टी, परिवार दल आवद्ध थिए । यद्यपि एमालेले यसलाई गठबन्धन नभएर ‘छिटपुट तालमेल’ भन्दै आएको छ । काँग्रेस र एमाले दुवै नेतृत्वको गठबन्धनमा सहभागी दलहरु स्थानीय निर्वाचन परिणामप्रति खासै सन्तुष्ट हुन सकेनन् । जसले गर्दा अब हुने निर्वाचनमा विगतको समीकरण फेरिन सक्ने आकलन समेत हुन थालेको छ । गठबन्धनभित्र उपगठबन्धनको चर्चा एकातिर भइरहेको छ भने अर्कोतिर वाम गठबन्धनको पनि चर्चा भइरहेको छ । यद्यपि यसबारेमा दलहरुबीच अहिलेसम्म ठोस सहमति भइसकेको छैन ।  साभार : रापा

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार