एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पत्राचार गर्न माग…..

काठमाडौँ — सत्ता साझेदार नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय तत्काल अमेरिकालाई पत्राचार गर्न सरकारसँग माग गरेका छन् ।  प्रतिनिधिसभा बैठकको बिहीबारको बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक गुरुङले नेपाल सरकार मन्त्रिपरिषद्‍को सो निर्णय परराष्ट्र मन्त्रालयले अझै अमेरिकालाई पत्राचार नगरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । उनले एमसीसी सम्झौतासँगै संसद्‌बाट पारित १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्छ कि गर्दैन ? भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने पनि बताए । उनले सो व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेमात्रै सो परियोजना नेपालमा लागू हुने पनि स्मरण गराए । प्रमुख सचेतक गुरुङले भने, ‘पहिलो कुरा सरकारले निर्णय गरेको एसपीपी सम्झौता नगर्ने भन्ने निर्णय अहिलेसम्म परराष्ट्र मन्त्रालयबाट पत्राचार भएको छैन । अविलम्ब पत्राचार गरियोस् । दोस्रो कुरा, आईपीएसको मेम्बरचाहिँ २०१९ देखि बनिसकेको कुरा सार्वजनिक मिडियाहरुबाट आइसकेको छ । अस्ती पूर्वप्रधानमन्त्रीज्यूले पनि भनिसक्नुभएको छ । आईपीएसको सदस्य नेपाल बन्न सक्दैन । त्यो कुरा पनि अविलम्ब पत्राचार गरियोस् । तेस्रो कुरा, सदनबाट एमसीसी पास गर्ने बेलामा १२ बुँदे घोषणापत्र जारी भएको थियो । त्यो घोषणापत्रबारे अहिलेसम्म अमेरिकाले स्वीकार गरेको अवस्था छैन । त्यो स्वीकार हुने वा नहुने सरकारले अविलम्ब पत्राचार गरोस् । त्यो घोषणा पत्र स्वीकार नगरेको अवस्था एमसीसी परियोजना रोकिन्छ । स्वीकार्य भएको अवस्थामा मात्रै यो परियोजना अघि बढ्छ । यो विषयमा पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । प्रमुख सचेतक गुरुङले नेपाल आईपीएस (इन्डोप्यासेफिक स्ट्राटिजी) को सदस्य राष्ट्र बन्नै नसक्ने धारणा समेत राखे ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार