जापानी प्रधानमन्त्री सिन्जो आबेको हत्या…..

टोकियो — कार्यकाल एक वर्ष बाँकी थियो, लोकप्रियता उकालोमै थियो । पार्टीभित्र पकड जबर्जस्त थियो । उमेर पनि ६५ मात्र, तर पनि २८ अगस्ट २०२० मा सिन्जो आबेले अचानक प्रधानमन्त्री पदबाट राजीनामा दिए । स्वास्थ्य प्रतिकूल भएकाले पदमा बस्न नहुने भन्दै कार्यकारी पदबाट अलग भएको दुई वर्षपछि पनि उनी पार्टीका लागि प्रचारमा सक्रिय थिए, यही क्रममा शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले गोली हानेपछि आबेको मृत्यु भएको छ । जापानको माथिल्लो सदनका लागि आइतबार निर्वाचन हुँदै छ, लिबरल डेमोक्र्याटिक पार्टीलाई मत माग्न उनी शुक्रबार नारा सहरमा थिए । यही नै उनको राजनीतिक मात्र होइन, व्यक्तिगत जीवनको पनि अन्तिम क्षण बन्न पुग्यो । जापानी जलसेनामा काम गरेका व्यक्तिले घरमै बनाएको बन्दुकबाट चलाएको गोली लागेपछि आबेको मृत्यु भएको हो । दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने आबे नै हुन् । कुल नौ वर्ष प्रधानमन्त्री रहेका उनी पारिवारिक पृष्ठभूमिले नै राजनीतिमा जोडिएका थिए । आबेका हजुरबुबा नोबुसुके किसीका प्रधानमन्त्री तथा बुबा सिनतारो विदेशमन्त्री थिए । सन् १९५४ मा जन्मिएका आबे सन् १९९३ मा पहिलो पटक सांसद बनेका थिए । सन् २००५ मा प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्रिपरिषद्का सदस्य बने । अर्को वर्ष ५१ वर्षको उमेरमा उनी प्रधानमन्त्री नै बने । त्यतिबेला उनी दोस्रो विश्वयुद्धपछि सरकारको नेतृत्व गर्ने सबैभन्दा कम उमेरका नेता थिए । तर, सरकार प्रमुखका रूपमा उनको पहिलो कार्यकाल सुखद रहन भने सकेन । एकपछि अर्को राजनीतिक विवादमा मुछिएपछि उनको दलले माथिल्लो सदनमा भारी मात्रामा शक्ति गुमाएको थियो । स्वास्थ्यमा समेत खराबी आएपछि सन् २००७ सेप्टेम्बरमा उनले पदत्याग गरेका थिए । स्वास्थ्यमा सुधारसँगै राजनीतिमा सक्रिय भएका आबे सन् २०१२ मा पुन: सरकारको नेतृत्वमा पुगेका थिए । त्यस्तै सन् २०१४ र सन् २०१७ मा पनि उनी प्रधानमन्त्री चुनिए । यसबीचमा राजनीतिक लोकप्रियताको उतारचढाव देखे–भोगेका उनलाई पार्टी पंक्तिबाट बलियो साथ मिलेको थियो । पार्टीभित्र पकड बलियो बन्दै गएकाले उनलाई सरकारको नेतृत्व छोड्नुपर्ने चुनौती थिएन । बरु पार्टीले विधान परिवर्तन गर्दै तेस्रो पटक पनि प्रमुख भूमिकामा रहन बाटो खोलिदिएको थियो । तर उनले दुई वर्षअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

आबे किशोरावस्थादेखि नै ‘अल्सरटिभ कोलाइटिस’ नामक रोगबाट पीडित थिए । दुवै पटक प्रधानमन्त्री पदबाट राजनीमा दिनुको मुख्य कारण पनि यही थियो । यो ठूलो आन्द्रामा जलन हुने र सानो–सानो फोका बन्ने एक स्वास्थ्य अवस्था हो, यसले पाचन प्रणालीलाई पनि प्रभावित गर्छ । खासगरी आक्रामक रक्षा र विदेश नीतिका कारण आबे पटकपटक विवादमा परे । उनको राष्ट्रवादी विचारले अमेरिका र भारतसँगको निकटता र चीनसँग तनाव बढाएको थियो । दोस्रो विश्वयुद्धपछि जापान सैनिक गठबन्धनमा सहभागी नहुने नीतिमा थियो । तर, सन् २०१५ मा आबेले सहयोगी मुलुकको रक्षाका लागि समेत जापानी सेना तैनाथ गर्न सक्ने नीति अघि सारे । छिमेकी मुलुकबाट मात्र होइन, जापानभित्रै पनि यसको आलोचना भएको थियो । विरोधका बीच पनि आबेले सैन्यीकरणसम्बन्धी विधेयक जापानी संसद्बाट पारित गराइछाडे । उनले परमाणु हतियार प्रयोग सम्बन्धमा सक्रिय बहस थाल्नुपर्नेसमेत बताएका थिए । त्यस्तै ‘साउथ चाइना सी’ मा चीनको आक्रामकता रोक्न भन्दै अमेरिका, भारत, अस्ट्रेलिया र जापान मिलेर गठन गरिएको क्वार्डलाई फेरि सक्रिय बनाउन आबेले पनि अग्रसरता लिएका थिए । समग्रमा आबेको सबैभन्दा ठूलो इच्छाशक्ति दोस्रो विश्वयुद्ध बखतको जापानको सैन्य प्रभावलाई पुन:स्थापित गर्नु थियो । तर, यसमा उनी सफल हुन भने सकेनन् । यो मुद्दा अझै जापानी जनता र जनप्रतिनिधिमाझ विभाजनको द्योतकका रूपमा कायम छ । आबेले चाल्ने अर्थनीति पनि उनलाई सधैंभर सम्झिने महत्त्वपूर्ण आधार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको विश्लेषण छ । उनको अर्थनीति ‘आबेनोमिक्स’ का रूपमै विश्लेषण हुने गरेको छ । बजारमा माग बढाउने त्यसैका आधारमा मूल्य वृद्धि गर्ने र उत्पादनलाई प्रवद्र्धन गर्ने अर्थनीतिका कारण उनको पहिलो कार्यकालमै आर्थिक व्यवस्थामा उल्लेख्य सुधार आएको थियो । तर, क्रमश: उनले चाल्ने अर्थनीति प्रभावहीन बन्दै गएको भन्दै सवाल उठाउन थालिएको थियो । उनको नेतृत्वका बाबजुद सन् २०१५ मा जापान आर्थिक मन्दीमा फस्यो । कोरोना महामारीका क्रममा सुरक्षित हुने उपयुक्त कदम चाल्न नसकेको आरोप पनि उनीमाथि थियो । महामारीका दौरानमा उनले थालेको घरेलु पर्यटनलाई बढावा दिने अभियान संक्रमण फैलाउन थप हितकर बनेको भन्दै आलोचना भएको थियो । जापानमा व्यक्तिगत प्रयोजनका लागि बन्दुक राख्न निषेध छ । व्यक्तिले आफ्नो सुरक्षाका लागि बन्दुक राख्न पाउने गरी कानुन सुधार गर्नुपर्ने बताएपछि आबे गत फेब्रुअरीमा विवादमा तानिएका थिए । तर, दु:खद संयोग एउटा सन्काहा बन्दुकधारीले गोली हान्दा उनको मृत्यु भएको छ । पश्चिमी सहर नारामा स्थानीय समयअनुसार शुक्रबार बिहान ११:३० बजेतिर सडकमा चुनावी भाषण दिइरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । जापानी संसद्को माथिल्लो सदनका लागि आइतबार चुनाव हुँदै छ । गर्धनमा गोली लागेपछि ढलेका ६७ वर्षीय आबेलाई तत्काल हेलिकोप्टरबाट अस्पताल लगिएको थियो तर करिब ५ घण्टापछि उनको मृत्यु भएको उनीसम्बद्ध दल लिबरल डेमोक्र्याटिक पार्टीलाई उद्धृत गर्दै जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ । आबे भाषण दिइरहेका थिए । त्यतिबेला एक व्यक्ति उनको पछाडि आए । पहिलो गोलीको भयानक आवाज सुनियो, दोस्रो गोली लागेपछि आबे त्यहीं ढले,’ प्रत्यक्षदर्शीले भनेका छन्, ‘गोली चलाउने व्यक्ति त्यहाँबाट भागेका थिएनन् । बन्दुक पनि हातमै थियो । तत्काल सुरक्षाकर्मीले ती व्यक्तिलाई गिरफ्तार गरे ।’ ढलेपछि पनि आबे होसमै थिए तर केहीबेरमा हृदयाघात भएको जापान टाइम्सले लेखेको छ । गोली प्रहारबाट आबेको गर्धनमा चोट लागेको र मस्तिष्कभित्र रगत बगेको चिकित्सकले बताएका छन् । उपचारका क्रममा साँझ ५ बजे उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । जापानका प्रधानमन्त्री फुमियो किसिदाले आबेको हत्याको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन् । उनले घटनालाई घृणित भन्दै दोषीलाई कुनै पनि हालतमा माफ गर्न नसकिने बताएका छन् । ‘यो हमलाको निन्दा गर्न जस्तोसुकै कडा शब्द होलान्, म ती प्रयोग गर्न चाहन्छु । लोकतन्त्रमा यस्ता घटनाको कुनै स्थान हुँदैन,’ चुनावी प्रचारका क्रममा यामागाटा क्षेत्रमा रहेका किसिदाले भने, ‘चुनाव चलिरहेको छ । यसलाई लोकतन्त्रको सबैभन्दा बलियो आधार मानिन्छ । यस्तो अवस्थामा बर्बर र दुर्भावनापूर्ण घटना भएको छ ।’ आबेमाथि गोली प्रहार भएको जानकारी पाएलगत्तै प्रधानमन्त्री टोकियो फर्किएका थिए । आबेमाथि गोली प्रहार गर्ने व्यक्ति ४१ वर्षीय तेत्सुया यामागामी जलसेनाका पूर्वसैनिक रहेको रक्षा एनएचकेले जनाएको छ । ‘उनले तीन वर्ष मेरिटाइम सेल्फ डिफेन्स फोर्समा काम गरेका थिए । सन् २००५ उनले जागिर छाडेका थिए, नाराकै बासिन्दा उनले घरेलु बन्दुकबाट गोली हानेका थिए । एजेन्सी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार