हतियार किन्न बिचौलिया भट्टको ‘डिल’…..

काठमाडौँ — विदेशी विनिमय सञ्चिती अभाव भई मुलुक आर्थिकरूपमा संकटोन्मुख भइरहेको अवस्थामा ८४ करोड रुपैयाँको हतियार खरिदका पछाडि एक शक्तिशाली बिचौलियाको हात रहेको खुल्न आएको छ । राजनीतिक दलका प्रमुख नेताहरूलाई प्रभावमा पार्दै आएका बिचौलिया छविका दीपक भट्टले हतियार खरिद गर्न सरकारी अधिकारीसमक्ष ‘डिल’ गरेको भिडियो सार्वजनिक भएको छ । कान्तिपुर टेलिभिजनबाट बिहीबार प्रसारित उक्त भिडियोमा भट्टले हतियार खरिद गराउन सरकार, संसद्, विपक्षी दलका नेता, छिमेकी देश र आवश्यक परे अरू जोकोहीलाई मिलाउने ‘जिम्मा’ लिएका छन् । मेरो त्यो हैसियत छ, म त्यो गर्न सक्छु,’ भन्दै उनले हतियार खरिदको प्रक्रिया अघि बढाउन सरकारी अधिकारीसँग ‘लबिइङ’ गरिरहेको भिडियोमा देखिन्छ । सरकारले अहिले उनकै प्रभावमा इटालीको बेरेटा कम्पनीका एजेन्टमार्फत १,१५० थान सटगन, हजार थान पेस्तोल, २५ हजार थान ग्यास सेलसहित गोलीगट्ठा किन्ने गृहकार्य अगाडि बढाइरहेको छ । त्यसका निम्ति तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ८४ करोड रुपैयाँ बजेट रकमान्तर गरिदिएका थिए । ०७१ सालबाट सुरु भएको हतियार खरिदको उक्त डिल अहिले पुन: ब्युँताइएको छ । भट्टले तत्कालीन समयमा गरेको वार्तालापको भिडियो कान्तिपुर टेलिभिजनमार्फत सार्वजनिक भएको हो । नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीका अनुसार, बिचौलिया र शक्ति केन्द्रको आर्थिक लाभका निम्ति यो हतियार खरिद प्रक्रिया अघि बढाइएको हो । उनका अनुसार ०७१ सालमा अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की, सरकारका उच्चपदस्थ अधिकारीदेखि एजेन्टसम्मले जसरी पनि डेढ अर्ब रुपैयाँ बराबरका हतियार किन्न जोडबल गरेका थिए । अख्तियारका प्रमुख आयुक्त कार्कीदेखि विदेशी कम्पनीका एजेन्ट दीपक भट्टसम्मले प्रहरीलाई जसरी पनि हतियार भिराउन गरेका षड्यन्त्रको साक्षी म आफैं छु,’ भण्डारीले भनेका छन् । भण्डारीले किटान गरेका भट्टले नै यो हतियार खरिदका लागि सरकारी अधिकारीसमक्ष डिल गरेको भिडियो सार्वजनिक भएको हो । कुरा त्यतिमा मात्रै सीमित छैन, उनले भिडियोमा पैसा दिनुपर्नेबाहेकका अरू कसैलाई घुमाउन टिकट काट्नुपर्ने, कसैका छोराछोरीको भर्ना गरिदिनुपर्ने भन्दै शक्ति केन्द्रलाई प्रभावमा पार्ने योजनासमेत सुनाएका छन् । निवर्तमान अर्थमन्त्री शर्मासँग निकट सम्पर्कमा रहेका र प्रधानमन्त्री निवास बालुवाटारमा समेत सहज सम्बन्ध बनाएका भट्टकै जोडबलमा अर्को साढे चार अर्ब खर्च गरी दुई हेलिकोप्टर खरिद गर्ने प्रयास पनि जारी छ । रुसबाट ‘एमआई–१७ भी५’का ती दुई हेलिकोप्टर किन्न लागिए पनि विरोध भएपछि तत्काललाई रोकिएको छ । राज्य संयन्त्रसँगको मिलेमतोमा ठेक्कापट्टा र राज्य ढुकुटीको दोहनमा भट्टको संलग्नता हेलिकोप्टर र हतियार खरिदमा मात्रै सीमित छैन, निवर्तमान अर्थमन्त्री शर्माले निर्माण गरेको बजेटमा समेत भट्टको संलग्नता रहेको सरकारी अधिकारीहरूको दाबी छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार