देशलाई गाँजाबाट सम्पन्न बनाउने,औषधीसम्मका उत्पादन…..

काठमाडौं-   क्याप्टेन पवनराज जोशी जसले १७ वर्ष अकासमा राष्ट्रिय ध्वजावाहक विमान उडाए, तर विगत ११ वर्षदेखि भने उनी गाँजाबाट देशलाई सम्पन्न गराउने सपनाको उडानमा छन् । उनको सपनाको उडानले गति लिन सरकारी नीति बाधक बनेको छ । विमान उडाउन छोडेपछि उनी गाँजाको रहस्यहरू पत्ता लगाउन लागिपरे । त्यसका लागि देश तथा विदेशका थुप्रै व्यक्तिसँग भेटघाट, छलफल, अध्ययन, अवलोकन गर्दै गाँजाबाट विभिन्न सामग्रीको उत्पादनका लागि परीक्षण गर्न लागिपरे । हाल गाँजाबाट महिला तथा पुरुषले दैनिक जीवनमा लगाउने विभिन्न डिजाइनका तयारी कपडाहरूको उत्पादनका साथै सौन्दर्य प्रशोधनका विभिन्न वस्तुहरू साबुनदेखि औषधीय गुणले भरिपूर्ण सामग्रीहरू उत्पादन गरिरहेका छन् । काठमाडौँको अन्नपूर्ण होटल नजिकै दरबारमार्गमा ‘डाभा’ ब्राण्डमा गाँजाबाट उत्पादित सामग्रीहरूको सोरुम सञ्चालन गरिरहेका उनले हामीलाई आफूले उत्पादन गरेको सामग्रीहरू देखाएका छन् । तिनीहरूको गुण, उत्पादन गर्ने तरिका र गाँजालाई खुला गर्दा नेपाल र नेपालीले पाउने लाभबारे हामीलाई वर्णन गरेका छन्, जुन तपाईले यसै सामग्रीको मुनी राखिएको भिडियोबाट थाहा पाउन सक्नुहुन्छ । क्याप्टेन जोशी गाँजाबाट सामग्री उत्पादन र बजारीकरण गर्नुका साथै नेपालमा मेडिकल प्रयोजनका लागि गाँजा उत्पादन तथा बिक्रीलाई कानुनी मान्यता दिनुपर्छ भनेर वकालत गर्न थालेका छन् । उनले अध्ययन अनुसन्धान गरेर ‘गाँजाको खेती धनको वर्षा’ नामको पुस्तिका समेत प्रकाशन गरेका छन् । जोशीले सन् २०११ देखि गाँजाको क्षेत्रमा अध्ययन गर्न थालेका हुन् । उनले सुरुमा अमेरिकाको क्यालिफोर्नियामा गाँजाको बारेमा अध्ययन गरेका थिए । उनले त्यहाँ गाँजा खेती तथा व्यापारमा लागेका धेरैलाई साथी बनाएका थिए । त्यसपछि उनी स्वेदेशमै पनि गाँजालाई प्राथमिकता दिएर केही गर्नुपर्छ भनेर नेपाल फर्किएका थिए । शाही नेपाल वायु सेवा निगममा जागिर छोडेपछि उनी अमेरिका जाने–आउने गरिरहन्थे । अमेरिकामा उनले गाँजाबाट बनेका धेरै उत्पादनहरू देखेका थिए । उनले भने–‘गाँजाबाट बनेको सामान भनेर त देखेँ तर कसरी बन्छ थाहा थिएन । त्यसपछि म अध्ययन अनुसन्धान गर्न थालेँ । म नेपाल फर्किएपछि फेरी त्यहाँको एकजना साथीले गाँजाको बारेमा जानकार मान्छे भेटाइदिन्छु भनेपछि फेरी म अमेरिका गएँ । त्यहाँ पुगेपछि एकपछि अर्कोसँग चिनजान बढ्यो । अहिले मेरो अमेरिका र क्यानडाका ३० जना गाँजा व्यापारीसँग राम्रो सम्बन्ध छ ।’थाइल्याण्ड लगायतका मुलुकमा पनि गाँजा व्यापार गर्ने उनका साथीहरूले नेपालमा पनि गाँजा उत्पादन भइदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेको उनले सुनाए । नेपालमा गाँजा बन्द भनिए पनि पूर्ण रूपमा बन्दको अवस्थामा भने नरहेको उनले बताए । गाँजालाई लागू औषध हैन भनेर नेपाल र भारतले सँगै भोटिङ गरेका कारण पनि अब लागू औषधको रूपमा नरहेको उनले बताए । नेपालमा चरेसलाई लागू औषधको रूपमा राखिएको छ तर गाँजालाई राखिएको छैन । अहिलेका बिचौलियाहरूले यसलाई जबरजस्ती बन्द गराउन खोजिरहेका छन् । जब तपाईले रक्सी बेच्न पाउनुहुन्छ भने त्यसलाई सेवन गर्न पनि पाउनुपर्‍यो नि ।

गाँजाका ३५ बढी बहुउत्पादनहरु : कपडा, साबुन, स्याम्पुदेखि औषधीसम्म:

दरबारमार्गमा रहेको उनको ‘डाभा’ शोरुममा उनले आफूले गाँजाबाट उत्पादन गरेका विभिन्न सामग्रीहरू थिए । तिनमा कपडादेखि साबुन, औषधीय गुणले भरिपूर्ण सामग्रीहरू थिए । उनले उत्पादन गरेका सामग्रीहरू निम्न रहेका छन् :

हेम्स सलुसन : गाँजाको फूलबाट बनाइएको अत्तर बनाउँदा निस्किएको पानी जसले अनुहारको चाया पोतो हटाउन मद्दत गर्छ ।

तेल : जसले दुखाइलाई कम गर्न मद्दत पुर्‍याउँदछ । शरीर दुखेको, हात मर्केको आदिका लागि लाभदायक हुन्छ ।

हेम्प मसाज तेल : जुन शरीर दुखेको हटाउनका लागि मसाज गर्न प्रयोग गरिन्छ ।

हेम्प मदर अइल : महिलाको पेटमा देखिने धर्सा हटाउनका लागि प्रयोग गरिन्छ ।

हेयर बाम : नुहाउनुभन्दा अगाडि कपालमा लगाइन्छ । पातलो कपाल भएकोलाई बाक्लो बनाउन मद्दत पुर्‍याउँछ ।

हेम्प बढी स्प्रे : नुहाउनु भन्दा १५ मिनेट अघि शरीरमा स्प्रे गरेपछि नुहाउँदा शरीर सफा राख्न मद्दत पुर्‍याउँछ ।

हेम्प फेस स्क्रब : मुख धुन प्रयोग गरिन्छ जसले अनुहार सफा गर्न, स्वस्थ राख्न मद्दत गर्छ । यो पूर्ण रूपमा प्राकृतिक हुन्छ । जसले कुनै पनि ‘साइड इफेक्ट’ गर्दैन ।

हेम्प बढी वास : यो तरल साबुनको रूपमा रहेको हुन्छ । यो नुहाउनका लागि प्रयोग गरिन्छ ।

हेम्प फेस वास : यो मुख सफा बनाउनका लागि प्रयोग हुन्छ । बजारमा सर्वाधिक बिक्री हुने गरेको छ । यसमा कुनै पनि केमिकल नहुने र कुनै पनि साइड इफेक्ट नगर्ने जोशीले बताए । गाँजाको फल डोल्पा नेपालगञ्ज ल्याएर त्यसलाई पेलेर तेल निकालेर काठमाडौं ल्याएर उत्पादन गरिने उनले बताए ।

लिप बाम : जाडोयाममा ओठमा लगाउने बस्तु जुन बिहान लगाएर हिँड्यो भने दिनभरिका लागि काम गर्ने उनी बताउँछन् । ओठमा लगाउँदा मुखभित्र गयो भने पनि कुनै असर नहुने उनले बताए ।

बाथ साल्ट : नुहाउनुभन्दा अगाडि बाथटबको मनतातो पानीमा एक बिर्को राख्ने र बाथटबमा बसेपछि यसले थकान घटाउन मद्दत पुग्दछ ।

गाँजाको शुद्ध तेल : अधिकांश उत्पादनहरूको आधार यो तेल हुन्छ । यो तेल सर्वगुण सम्पन्न हुने गर्छ । यो टाउकोमा लगाउन पनि मिल्ने, निद्रा नलाग्ने समस्या भएकाले खान पनि सक्ने, अल्जाइमर, हात खुट्टा काम्ने जस्ता समस्या भएका मानिसले सेवन पनि गर्न सक्ने क्याप्टेन जोशी बताउँछन् । बेलुका सुत्ने बेलामा ५ एमएल पानीमा मिसाएर पिउन सकिने उनले बताए । यसले कुनै साइड इफेक्ट नगर्ने र राम्रोसँग निद्रा लगाउने उनले बताए । गाँजा जस्तो नलाग्ने र बिहान उठ्दा फ्रेस हुने उनको भनाई छ । अहिलेसम्म डाभा ब्राण्डमा ३५ प्रकारका सामग्री उत्पादन गरिरहेको उनले बताए । अर्को साता देखि नेचुरल सन्चोको उत्पादन गर्ने तयारी समेत गरिएको छ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार