मन्त्रालयमा जनार्दन शर्माको पुनरागमन…..

काठमाडौं-     यो देशको जनयुद्ध, जनआन्दोलन, संविधान निर्माणका आन्दोलनमा जनताको हक अधिकार स्थापित गर्न अग्रज नेताहरूसँग काँधमा काँध मिलाएर काम गरेको छु । आफ्नो प्रतिबद्धता र कन्भिन्सनबाट डगेको छैन, झुकेको छैन । बजेट निर्माणका सन्दर्भमा मेरो मूल्य, मान्यता, नैतिकता, राष्ट्र र जनताप्रतिको कतै पनि डगमगिन दिएको छैन र दिँदैन । भोलि पनि दिन्नँ । म एउटा छानबिनमात्रै होइन, हजार छानबिनका लागि तयार छु,’ गत असार २२ गते संसद् भवनमा तत्कालीन अर्थ मन्त्री जनार्दन शर्माले गरेको उद्घोष हो यो । बजेट निर्माणको क्रममा अनावश्यक व्यक्तिहरूलाई मन्त्रालयमा प्रवेश गराएर करका दर परिवर्तन गरेको भन्दै एमालेले लगातार संसद् बैठक अवरोध जारी राख्नुका साथै सत्तारुढ दलबाटै आलोचना हुन थालेपछि उनले नैतिकताका आधारमा गत असार २२ गते राजीनामा दिएका थिए । शर्माको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले १७ दिन लगाएर अध्ययन, अनुसन्धान गरेर प्रतिवेदन बुझायो । संसदीय समितिको छानबिनबाट ‘क्लिन चिट’ पाएपछि शर्माले फेरि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । आइतबार मन्त्री नियुक्त भएका उनले आइतबार नै शपथ ग्रहण गर्नुका साथै पदबहालीसमेत गरेका छन् । राजीनामाको २५ दिनपछि फेरि सोही जिम्मेवारीमा फर्किन पाएका मन्त्री शर्मा पदबहालीका क्रममा निकै भावुक देखिए । पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शर्माले अब देशमा बढ्दो आयात प्रतिस्थापन गर्ने, उत्पादन वृद्धि गर्ने र वैदेशिक मुद्रा सञ्चिति गर्नुपर्ने अवस्था भएको बताए । ‘यो नयाँ आर्थिक वर्ष भर्खरै प्रारम्भ भएको छ । हामीले नयाँ बजेट तयार गरेका थियौँ । त्यो पारित भएर कार्यान्वयनको चरणमा छ,’ उनले भने, ‘आयात प्रतिस्थापन गर्नु, उत्पादन वृद्धि गर्नु, वैदेशिक मुद्रा सञ्चिति गर्नुजस्ता तीनवटा मूलभूत उद्देश्यमा केन्द्रित भएर समग्र बजेट नीति तथा कार्यक्रम बनाएका हौँ । अहिले विभिन्न युद्धका कारण विश्वको आर्थिक अवस्थामा एकखालको समस्या देखिएको भन्दै उनले यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । नेपाली अर्थतन्त्र आत्मनिर्भर बनाउन सबैसँग सहकार्य गरेर अघि बढ्ने मन्त्री शर्माले बताए । गत वर्ष बजेट निर्माणमा देखिएका कमीकमजोरीलाई सच्याएर अघि बढ्ने पनि उनले प्रस्ट पारे । ‘गत वर्षको बजेट कार्यान्वयनको सन्दर्भमा समीक्षा गरेर कहाँ कहाँ कमजोरी भए ? त्यसलाई कसरी हटाउन सकिन्छ भन्नेबारेमा उचित समीक्षासहित आगामी दिनमा बजेट कार्यान्वयनका सम्बन्धमा जिम्मेवारीसहित प्रभावकारी रूपमा कार्यान्वयनमा लागिपर्ने छौँ,’ शर्माले भने, ‘बजेट कार्यान्वयनका सम्बन्धमा क्षमताको विकास र कार्यदक्षता वृद्धि गर्न सामूहिक रूपमा लाग्ने छु । एमालेले यसअघि लगाएको आरोपका विषयमा भने शर्माले कुनै प्रसङ्ग उठाएनन् । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार