ललितपुरका मेयर र आईजीपीबीच भनाभन…..

ललितपुर — ललितपुर महानगरपालिकाले साउन १० गते बाट नख्खु–एकान्तकुनामा लागू गरेको ‘वान वे’ (एकतर्फी) प्रहरीले हटाएको विषयलाई लिएर मेयर चिरीबाबु महर्जन र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच फोनमा भनाभन परेको छ । प्रहरीले छापामार शैलीमा नख्खु–एकान्तकुनाको वान वे हटाएको भन्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले ‘वान वे’ क्षेत्रमा पुगेर दुईतर्फी गाडी सञ्चालनमा रोक लगाएका छन् । वान वे गरेपछि ट्राफिक व्यवस्थापन उपलब्धिमूलक भइरहेको थियो, आईजीपीको ठाडो निर्देशनमा महानगरले राखेको बोर्ड हटाएर दुईतर्फी गरिएछ,’ महानगरका मेयर महर्जनले भने, ‘आईजीपी सिंह र मेरो फोनमा भनाभन भयो ।’ स्थानीय सरकारले गरेको निर्णयमा प्रहरीले हस्तक्षेप गरेको मेयर महर्जनको आरोप छ । मंगलबार बिहान १० बजे प्रहरीले आफ्नो कार्यक्षेत्रमा महानगरले हस्तक्षेप गरेको भन्दै नख्खु र एकान्तकुनामा महानगरले बनाएको वान वे हटाएको थियो । नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंहकै निर्देशनमा प्रहरीले उक्त क्षेत्रको ‘वान वे’ हटाएको महर्जन बताउँछन् । उक्त क्षेत्रमा ‘वान वे’ सुरू गरेदेखि दुर्घटना र सवारीजाम शून्य भएको मेयर महर्जनको दाबी छ । ‘हामीले यो क्षेत्रमा वान वे बनाएपछि सवारी जाम र सडक दुर्घटना शून्य भएको छ । महानगरले राम्रो काम गरेको भनेर स्थानीय खुसी भएका छन्,’ उनले भने, ‘यसरी एकाएक छापामार शैलीमा प्रहरीले स्थानीय सरकारको काममा हस्तक्षेप गर्न मिल्दैन । ‘वान वे’ लागू गर्नुअघि महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर, ट्राफिक प्रहरी कार्यालय सातदोबाटो, प्रहरी प्रभाग सानेपा, ट्राफिक प्रहरी वृत्त जावलाखेल, ललितपुर महानगरपालिका वडा नम्बर ४ र नगर प्रहरी बल ललितपुरलाई पत्राचार गरेको समेत जनाएको छ । बढ्दो सवारी चापलाई ध्यानमा राखेर ललितपुर महानगरले साउन १० गतेबाट नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने र भनिमण्डल चोकबाट नख्खु चोकतर्फ जाने चार पाङ्ग्रे सवारीसाधनलाई ‘वान वे’ गरेको थियो । ट्राफिक विज्ञ, स्थानीयवासी तथा वडा र सरोकारवालाको सुझावअनुसार एकान्तकुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने  (२७९ मिटर) र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउने (२५२ मिटर) क्षेत्र एकतर्फी गरिएको मेयर महर्जनले जानकारी दिएका छन् । महानगरले यसअघि झम्सिखेल, पाटनढोका, पाटन दरबार क्षेत्र ‘वान वे’ बनाइसकेको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार